चितवन : सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा रिभर क्रुजसिप (मिनी पानीजहाज) सञ्चालनमा आउने भएको छ ।
क्रुज दशैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
क्रुज सञ्चालन गर्ने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले पत्रकार सम्मेलन गर्दै दशैँ अगाडि क्रुज सञ्चालनमा ल्याइने जानकारी दिएको हो ।
सम्भाव्यता अध्ययन गरी सञ्चालन गर्न सकिने देखिएपछि काम थालिएको सो अवसरमा जानकारी दिइयो । प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले निर्माणको काम अन्तिम चरणमा पुुगिसकेकाले दुई महीनापछि अर्थात् दशैँअघि सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको बताए ।
भरतपुर महानगरपालिका– १६ स्थित ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाट बगरमा पोर्ट र क्रुज निर्माण भइरहेको छ ।
ज्ञानेश्वर सामुदायिक वनसँग २० वर्षको सम्झौता गरी क्रुज निर्माण गरिएको हो । क्रुज सञ्चालन गर्न करीब रु ३५ करोड लागत लाग्ने अनुमान गरिएको कँडेलले बताए ।
क्रुज हालका लागि पर्यटकीय प्रयोजनका लागि मात्र हुनेछ ।
क्रुजमा बिहानको ब्रेकफाष्ट खाँदै नदीमा सयर गर्न चाहनेहरुले ब्रेकफाष्ट क्रुजको मज्जा लिनेछन् ।
अपराह्न र साँझको खानानै क्रुजमा खाँदै रमाउन चाहनेको इच्छा पनि पुरा गरिने कँडेलले जानकारी दिएका छन ।
प्रत्येक क्रुजिङ करीब तीन घण्टाको हुनेछ । काभ्रेघाटदेखि शुरु यात्रा देवघाट पुगेर गोलाघाटसम्म २५ किलोमिटरको दूरी रहेको यो जलयात्राका लागि बाटोको समेत अध्ययन भइसकेको छ ।
एकपटकमा २०० जनालाई सेवा दिने गरी निर्माण भइरहेको क्रुज दुईतला, १०० फिट लम्बाइ र २५ फिट चौडाइको हुनेछ ।
क्रुजको भुइँतला वातावरण अनुकूलित हुनेछ भने माथिल्लो तला खुला रहनेछ ।
क्रुजको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानीका साथ क्रुज निर्माण र पूर्वतयारी गरिरहेको कँडेलले बताए ।
क्रुज निर्माण गत वर्षको चैतबाट थालिएको हो । यो निर्माणका लागि १५ फिट गहिरो पोखरी निर्माण गरिएको छ । क्रुजको अघिल्लो भागमा एकसिङ्गे गैँडाको टाउको आकृति हुनेछ ।
यसबाट जिल्लामा जलपर्यटनको शुभारम्भ हुने अपेक्षा गरिएको छ ।