काठमाडौं ः यसवर्षको साउन महिनाको आज पहिलो सोमबार, मुलुकभरका शिवालयमा भक्तजनको घुईंचो लागेको छ । शिवालयमा आज भगवान शिवलाई मनपर्ने बेलपत्र, जल, पञ्चामृत चढाई पूजाअर्चना गर्ने गरिन्छ ।
आराध्यदेव पशुपतिनाथ, महोत्तरीको जलेश्वर, दोलखाको भीमेश्वर, पर्साको पारसनाथ, पनौतीको भालेश्वर, डडेल्धुराको भाग्येश्वर, सप्तरीको भजनेश्वर, कैलालीको बेडाबाबा र रुपन्देहीको मनौरी महादेवलगायतका शिवालयमा साउन महिनाभर नै महादेवको विशेष उपासना गर्न श्रद्धालुुहरूकोे भीड लाग्ने गर्दछ ।
त्यस्तै पवित्र तीर्थस्थल देवघाट धाममा साउनको पहिलो सोमबार आज स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । हिजो आइतबार देखिनै देवघाटमा रात बिताइ बिहान सबेरै स्नान र पूजापाठ गर्ने ठूलो सङ्ख्यामा रहेका छन् ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार बिहान सबेरैदेखि नदीमा स्नान गर्ने र मन्दिरमा पूजापाठ गर्नेको भीड लागेको छ ।
पानीमा सम्भावित दुर्घटना रोक्नका लागि बोटेको उद्धार टोली तैनाथ गरिएको, सुरक्षाको प्रबन्ध मिलाइएको, प्राथमिक स्वास्थ्य टोली र एम्बुलेन्स तयारी अवस्थामा राखिएको पौडेलले जानकारी दिए ।
तीन जिल्लाको सङ्गमस्थल देवघाट धाममा साउनको सबै सोमबार भक्तजन जाने गर्दछन् । पहिलो र अन्तिम सोमबार यो सङ्ख्या बढी हुने गर्दछ ।