बागलुङ : थाइराइड जाँचको लागि रगतको नमूना पोखरा पठाउनुपर्ने बागलुङवासीको बाध्यता अब हटेको छ ।
धौलागिरि अञ्चल अस्पतालले हिजो मङ्गलबारदेखि थाइराइड परीक्षण तथा उपचार सेवा शुरु गरेको छ ।
थाइराइड सेवाको गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा र बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले संयुक्तरुपमा शुभारम्भ गर्नुभयो ।
बागलुङ नगरपालिका–४ कि विष्णु सापकोटाले प्रयोगशालाबाट पहिलो सेवा लिनुभएको थियो ।
सोही अवसरमा प्रदेशसभा सदस्य सापकोटालगायतको पनि थाइराइड परीक्षण गरिएको थियो । अत्याधुनिक उपकरण भित्र्याएर थाइराइड सेवा शुरु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलले बताउनुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले व्यवस्थापकीय सुधारसँगै सेवाको गुणस्तर बढाइएको बताउनुभयो ।
त्यस्तै मङ्गलबार नै अस्पतालमा स्थापना भएको स्तनपान कक्षको पनि शुभारम्भ गरिएको थियो ।
अस्पतालमा आउने महिलालाई स्तनपानका लागि सहजता होस् भनेर छुट्टै कक्ष बनाइएको हो । कक्षमा एकैसाथ दश जना महिलाले आफ्ना शिशुलाई स्तनपान गराउन सक्नेछन् । अस्पताल, विमानस्थललगायतका सार्वजनिक ठाउँमा स्तनपान कक्ष बनाउनुपर्ने सरकारी नीति छ ।