पर्वत : पर्वतका दुई लोकमार्गमा वर्षायाम शुरु भएदेखि नै हिलो र पहिरोको सास्ती बढेको छ ।
मध्यपहाडी (पुष्पलाल) लोकमार्ग धवलागिरिवासीको ‘लाइफलाइन’ सडक हो तर यतिबेला यही सडक धवलागिरिका चार जिल्लावासीका लागि धराप बनेको छ ।
त्यस्तै अर्को राष्ट्रिय गौरवको योजना कालीगण्डकी लोकमार्गमा पनि उस्तै अवस्था छ ।
गत १४ महीनायता पर्वतको मालढुङ्गादेखि कास्कीको विन्ध्यवासिनीसम्मको करीब ६५ किलोमिटर दूरीको यो सडक स्तरोन्नतिको चरणमा छ ।
स्तरोन्नतिका क्रममा सडक फराकिलो पार्न खनिएको माटो र अव्यवस्थितरूपमा छेउमा थुपारिएको गेग्र्यानका कारण यात्रुका लागि सडक धराप बन्दै गएको छ ।
त्यति मात्रै होइन, सडक फराकिलो पार्न साँघुरो क्षेत्रमा ठुल्ठूला ‘ब्रेकर’ फुटाइएकाले पहिरो खस्ने क्रम बढेपछि यात्रा निकै जोखिमपूर्ण बन्दै गएको छ ।
सडकमा साना–ठूला सवारी चाप बढ्दो छ । मध्यपहाडी लोकमार्गका ठाउँठाउँमा यतिबेला दैनिकजसो खस्ने पहिरोले सवारीसाधनमा यात्रा गर्ने त्रसित हुन्छन् ।
राजमार्गमा पहिरो खसेको एक घण्टाभित्रै खुलाउने गरी मध्यपहाडी आयोजनाले ठेकेदार कम्पनीलाई जिम्मा दिएको भए पनि घण्टौँसम्म ठेकेदार कम्पनीले बाटो खुलाउन बेवास्ता गर्ने यात्रुको गुनासो छ ।
मनसुन शुरु भएसँगै राजमार्ग फराकिलो पार्न खनेको माटो र गेग्र्यान सडकभरि छिरलिएको छ । त्यो सफा नगर्दा साना सवारीसाधन सडकमै पुरिन्छन ।
सामान्यतया डेढदेखि दुई घण्टाको कुश्मा–पोखराको यात्रा अहिले पाँच घण्टाभन्दा बढी समय लाग्ने उहाँले भन्नुभयो ।
सडकको कुश्मादेखि बेतेनी र कास्कीको नागडाँडाको केही भाग तथा फेदीदेखि याम्दीसम्मको सडकमा साना सवारीलाई निकै जोखिम भएको उहाँले बताउनुभयो ।
कास्कीकै नागडाँडादेखि सराङकोट हुँदै विन्ध्यवासिनी निस्किने वैकल्पिक सडक भए पनि उक्त सडकमा बेला–बेलामा ट्राफिकले दुःख दिने गरेको व्यवसायीको गुनासो छ ।
सरकारीस्तरबाटै हुने यस्तो ज्यादतीबाट धवलागिरिका यातायात व्यवसायी आजित बनेका छन् ।
सराङकोट हुँदै पोखरा पुग्ने नागडाँडा–सराङोट–विन्ध्यवासिनी सडक मूल सडकभन्दा सात किलोमिटर छोटो र सजिलो भए पनि ट्राफिककै कारण जान नसकिएको साना सवारी चालकको गुनासो छ ।
गत असारसम्म मुख्य सडक कालोपत्रे सक्ने लक्ष्यका साथ काम गरेको मध्यपहाडी आयोजनाले भने विभिन्न बहाना बनाउँदै बेला–बेलामा काम रोक्दै आएको छ ।
गत वैशाखयता वन मन्त्रालय र विद्युत् प्राधिकरणले काम गर्ने वातावरण नबनाएको भन्दै आयोजनाले केही समय काम रोकेको थियो ।
आयोजनाको पर्वत कार्यालयका प्रमुख आशिष थापामगरले विद्युत् प्राधिकरणले सडकछेउका पोल हटाउन नमान्दा काममा ढिलाइ भएको बताउनभयो ।
त्यससँगै निर्माण सामग्री निकाल्न सामुदायिक वनले नदिँदा पनि समयमा काम नसकिएको उहाँको आरोप छ ।
उता कालीगगण्डकी लोकमार्गको अवस्था पनि दयनीय रहेको छ ।
बहुवर्षीय योजनाअन्तर्गत झण्डै एक दशकदेखि निर्माण भइरहेको उत्तर–दक्षिण जोड्ने सडक अझै सम्पन्न हुनसकेको छैन ।
सडक स्तरोन्नति नहुँदा वर्षायाममा ठप्पजस्तै हुने गरेको छ । यतिबेला सडकका अधिकांश भागमा पहिरो र हिलोका कारण सवारीसाधन सञ्चालन हुनसकेका छैनन् ।
सडक अवरुद्ध भएपछि दक्षिण पर्वतका तीन स्थानीय तहको सदरमुकामसँग सम्पर्क टुटेको छ । लोकमार्गको पर्वत खण्डअन्तर्गत श्रीकाङ, खबरा, कर्नास, लमाएलगायतका स्थानमा पहिरो र लेदोले सवारी गुडाउन समस्या छ ।
