ओखलढुङ्गा : कीर्ते कागजात बनाएर सरकारी काम गर्ने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
वडा कार्यालयले दिने सबै कागजात कीर्ते बनाएर सरकारी सेवा लिने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
निर्वाचित वडा सदस्यको नाममा कार्यवाहक वडा अध्यक्ष उल्लेख गरी उनीहरुको कीर्ते हस्ताक्षर गर्ने मुख्य अभियुक्त सुनकोशी गाउँपालिका– ९ ककनीका कर्णबहादुर तामाङसहित कीर्ते कागजात देखाएर सेवा लिने स्थानीय पञ्चबहादुर तामाङ र अम्बरबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पुष्पराज मल्लले जानकारी दिएका छन।
मुख्य अभियुक्त भनिएका कर्ण तामाङ अस्ति बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् । उनलाई जिल्ला ल्याएर अदालतमा पेश गरिएको छ ।
पञ्चबहादुर र अम्बरबहादुर केही समयअघि पक्राउ परेका थिए । उनीविरुद्ध सरकारी कागजात कीर्तेमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
कीर्ते कागजात बनाउने तामाङ स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट वडा सदस्यका उम्मेदवार थिए ।
निर्वाचनमा पराजित भए पनि उनले वडा कार्यालयले दिने सबैजसो सिफारिससहितका कागजात कीर्ते हस्ताक्षर गरेर दिने गरेको खुलेको छ ।
सुनकोशी गाउँपालिका वडा नं ९ को छाप, लेटरप्याड, मालपोत रसिदलगायतका सबै सरकारी कागजात कीर्ते गरेर गाउँका नागरिकसँग अवैद्यरुपले सेवा शुल्क भन्दै रकम असुल्ने गरेको पाइएको वडाध्यक्ष झनककुमार कार्कीले बताएका छन ।
छाप, मालपोत रसिद, सर्जिमन मुचुल्का तथा हस्ताक्षरसमेत कीर्ते गरेर जिल्ला मालपोत कार्यालय ओखलढुङ्गाबाट अनाधिकृत व्यक्तिका नाममा जग्गा नामसारी गरेको कार्कीले बताए ।
कीर्ते गरेर हकवालालाई थाहै नदिइ अरुको नाममा पास गरेपछि घटना बाहिर आएको उनको भनाइ छ ।
वडा सदस्य धनबहादुर तामाङ र टङ्कबहादुर कटवालको नाममा कीर्ते गरेको भेटिएपछि दुवै वडा सदस्यले आफ्नो नाममा कीर्ते भएको भन्दै वडा कार्यालयमार्फत प्रहरी र प्रशासनमा उजुरी दिएर छानविनका लागि आग्रह गरेका थिए ।