चितवन ः इच्छाकामना गाउँपालिका–४ फिस्लिङस्थित पृथ्वी राजमार्गमा आज बिहान ट्रकको पछाडि बस ठक्कर खाँदा बसमा सवार एक जनाको मृत्यु भएको ।
दुर्घटनामा पाँच घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा झापाको मेची–२ बस्ने २३ वर्षीय भानु तिमिल्सिना रहेका छन् ।
उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।
गौरबाट भैँसी लिएर काठमाडौँतर्फ आउँदै गरेको ना७ख २५६१ नंको ट्रकलाई काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको ना५ख ४८१९ नंको बसले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटना बिहान ४ः४५ बजे भएको थियो ।
दुर्घटनामा परी घाइते भएकाहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सबैको अवस्था मध्यम रहेको छ । ट्रक र बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
यसैबीच धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नं ८ त्रिभुवन राजपथमा गए राति भएको सवारी दुर्घटनामा एक सवारी चालकको मृत्यु भएको छ ।
तसर्पुबाट नौबिसेतर्फ जाँदै गरेको बा१७च ५३६ नंको सामान बोकेको गाडी सडकबाट खोल्सामा खस्दा सवारी चालक थाक्रे गाउँपालिका–६ का २८ वर्षीय बलराम तामाङको उपचारको क्रममा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताउनुभयो ।
सडकबाट करीब १५० मिटर तल सवारी खसेपछि गाउँवासीले उद्धार गरी अस्पताल लगिएको थियो ।
अस्पतालमा उपचारको क्रममा चालकको मृत्यु भयो भने सहचालक गम्भीर घाइते भएकाले थप उपचारका लागि काठमाडौ ल्याइएको छ ।