पोखरा : पोखरामा चोरीको घटना बढ्दै गएका छन्। चोरबाट सबैभन्दा असुरक्षित पोखरा महानगरपालिकाका वडा कार्यालय भएका छन्।
गत जेठ १२ गते पोखरा महानगरपालिकाका वडा नम्बर १२ को वडा कार्यालय फोडेर सुरु भएको कम्प्युटर चोरीको श्रृखला मंगलबार ११ औं श्रृंखलाको रुपमा पोखरा महानगरपालिका वडा नम्बर ६ बैदामको कार्यालय चोरी भएको हो।
वडा कार्यालयको राजश्व शाखाको कोठा फोडी दुई वटा कम्प्युटर चोरी भएको वडा नम्बर ६ का वडाध्यक्ष जगतबहादुर पहारीले बताए। राति सवा १२ बजेतिर मास्क लगाएर अनुहार छोपेको मान्छेले चोरेको सीसी क्यामेरामा रेकर्ड रहेको उनले सुनाए। सीसी क्यामेराको रेकर्ड प्रहरीलाई बुझाइएको पनि उनले बताए। चोरले राजश्व शाखाको सीसी क्यामेरा पनि झिकेर लगेको छ।
अहिलेसम्म पोखरा महानगरपालिकाको वडा नम्बर ५, १२, १३, १४, १५, १६, १९, २५, २९, ३१ वडामा चोरी भइसकेको छ। महानगरपालिकाले वडाबाटै कर लिने व्यवस्था गरेको छ।
महत्वपूर्ण कागजात हुने कम्प्युटर एक पछि अर्को वडामा चोरी भएका हुन्। दुई महिना अघि पोखरा महानगरपालिका वडा नम्बर ३१ कार्यालयबाट एउटा ल्यापट र दुईवटा कम्प्युटर चोरी भएको वडाध्यक्ष कमलबहादुर थापाले बताए। ‘कम्प्युटरका तथ्यांकका लागि चोरेको भनौँ भने हामी पारदर्शी रुपमा नै दिन्छौँ, त्यो किन गर्नुपर्यो ?’ चोरी रहस्यमय रहेको शंका गर्दै उनले भने।
अहिलेसम्म महानगरपालिकाका सबै वडाका कम्प्युटर, ल्यापटप, प्रिन्टर, मनिटरसहित ३० भन्दा बढी सामग्री चोरी भएको महानगरपालिकाका जिन्सी शाखा प्रमुख किरण कोइरालाले जानकारी दिए। सबै सामग्री गरी करिब २२ लाख बराबरको चोरी भएको उनले सुनाए।
वडा नम्बर ७ मा भने स्थानीय निर्वाचन अघि कार्यालय फोडेर त्यहाँ रहेको २५ सय रुपैयाँ चोरी भएको थियो।
वडा कार्यालयमा चोरी नियन्त्रणका लागि सीसी क्यामेरा राखिए पनि चोरले मास्क लगाएर चोरी गर्ने गरेकोले अनुसन्धानमा प्रहरीलाई समस्या परेको छ।