काठमाडौँ: राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको व्यवस्थापन सुधारका लागि सरकारले सुझाव कार्यदल गठन गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णयअनुरूप पूर्व पर्यटनसचिव सुशील घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय ‘नेपाल वायु सेवा निगम सुधार सुझाव कार्यदल गठन गरिएको हो ।
कार्यदलमा चार्टर एकाउण्टेण्ट सुबोधकुमार कर्ण, व्यवस्थापन विज्ञ डिमप्रसाद पौडेल, क्याप्टेन सुधीरशम्शेर राई र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य छन् । कार्यदललाई एक महिनाभित्र निगमको समग्र सुधारका लागि ठोस सुझावसहितको प्रतिवेदन तथा सो सुझावहरुको कार्यान्वयन कार्ययोजना समेत पेश गर्ने जिम्मेवारी दिइएको छ ।
कार्यदलले निगमको समग्र सुधारका लागि हालसम्म भएका विभिन्न अध्ययनको प्रतिवेदन विश्लेषण गर्ने, निगमको वर्तमान वित्तीय अवस्थाको अध्ययन गर्ने तथा निगमको कानूनी, संस्थागत संगठनात्मक, व्यवस्थापकीय एवम् व्यावसायिक क्षमतामा रहेका समस्याको पहिचान तथा विश्लेषण गर्नेछ ।