बाजुरा ः साँफे मार्तडी सडकमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ ।
बूढीगङ्गा नदीले सडक नै कटान गरी भासिन थालेपछि यातायात सेवा ठप्प हुन पुगेको हो ।
शिलान्यास भएको २३ वर्षपछि निर्माण सम्पन्न भएर यातायात सेवा सञ्चालन भएको एक वर्ष नपुग्दै दर्जनौ स्थानमा पहिरो जाँदा सो सडक अवरुद्ध भएपछि बाजुरावासी प्रभावित भएका छन् ।
गत वर्ष मात्र कालोपत्रको काम सकिएर सो सडक नियमित सञ्चालनमा आएको थियो ।
कालोपत्र गरेकै वर्ष पनि पहिरोका कारण सडक अवरुद्ध बनेको थियो । यो वर्ष पनि दुई पटक अवरुद्ध बनिसकेको छ ।
सामान्य पहिरो गएको र पन्छाएपछि पुनः सञ्चालन हुने अवस्था नभएकाले लामो समयसम्म सडक बन्द हुने अवस्था देखिएको छ ।
सो सडकखण्डअन्तर्गत बूढीगङ्गा नगरपालिका– १ अमकोट क्षेत्रमा पहिराले सडक भत्किएको छ ।
सडकमा यातायातका साधन नै सञ्चालन गर्न नमिल्ने गरी सडक भासिएको प्रहरीले जनाएको छ । सडक नै भासिएकाले छिटो खुलाउन नसकिने सडक डिभिजन कार्यालय साँफेका इञ्जिनीयर दमन विष्टले बताउनुभयो ।
सडकको आधा बढी भाग पहिरोले बगाइसकेको र बाँकी भाग पनि भत्किने खतरा रहेकाले बस र ठूला मालबाहक ट्रक आवतजावतमा रोक नै लगाइएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
पहिरोले भासिएको क्षेत्रमा खतराको चिह्न लगाएर प्रहरी परिचालन गरिएको छ ।
सो क्षेत्रको अम्कोट र द्वारी तथा मलाती क्षेत्रका आधा किलोमिटर बढी सडक नै पहिराको उच्च जोखिममा रहेको सडक डिभिजन कार्यालय साँफेबगरले जनाएको छ ।
त्रिवेणी नगरपालिका क्षेत्रमा पर्ने पैमाको पहिरा र बूढीगङ्गा नदीको कटानले सडक नै उच्च जोखिममा रहेको इञ्जिनीयर दमन विष्टको भनाइ छ ।
सडक छेउको घर नै भत्काएर तत्कालका लागि वैकल्पिक बाटो निर्माण गर्नुपर्ने हुँदा यसका लागि प्रमुख जिल्ला अधिकारीसहित घरधनीको अनुमति चाहिने इञ्जिनीयर विष्टले जानकारी दिनुभयो ।
सडक अवरुद्ध हुँदा सदरमुकाम मार्तडी आउने र मार्तडीबाट जाने मालवाहक तथा यात्रुवाहक सवारी अलपत्र परेका छन् । दर्जर्नौ सवारी साधान बल्देमै रोकिएका छन् ।
सदरमुकाम मार्तडी आउने र मार्तडीबाट जाने सञ्जाल नै विच्छेद भएको स्थानीयवासी चेतन ऐडीले बताउनुभयो ।
यसैबीच साँफे मार्तडी सडक खण्डको छेउमा रहेका आठ परिवारले घर छोडेका छन् ।
तलपट्टी बूढीगङ्गा नदीको तीव्र कटान शुरु गरेसँगै आँगनमै पहिरो बग्न थालेपछि उनीहरुले घर छोडेका हुन् ।
सात परिवारले साउन पहिलो साता नै घर छोडेका हुन् भने टीकाराम पाध्यायका दाजुभाइले एकहप्ता अघिमात्रै घर छोडेको स्थानीयवासी नवराज पाध्यायले जानकारी दिनुभयो ।
सडक तलतिर रहेका लीला पाध्याय, हीरा पाध्याय, नन्दकृष्ण पाध्याय, मनिराम पाध्याय, टीकाराम पाध्याय लगायतका परिवार पनि अन्यन्त्र सरिसकेका छन् । उनीहरुको बस्ती नजिकै पहिरो बग्न थालेको छ ।
