काठमाडौं : बहुचर्चित पेट्रोलियम पाइपलाइनको उद्घाटनहाइटेक प्रविधिमार्फत हुने भएको छ। पाइप ओछ्याउने काम शतप्रतिशत सम्पन्न भइसकेको छ। नेपाल र भारत सरकारको द्विपक्षीय छलफलमार्फत उद्घाटनगर्न हालसम्म दुईवटा मिति निर्धारण भएको छ।
भदौ १५ गते (सेप्टेम्बर १ तारिख) र भदौ २४ (सेप्टेम्बर १० तारिख) निर्धारण भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सहज हुने गरी ती दुवैमध्ये एक छनोट गरिनेछ। यसरी छनोट भएको दिनमा हाइटेक प्रविधिमार्फत उक्त पाइपलाइनको उद्घाटनगर्ने तय भएको छ। उद्घाटनपश्चात यो पाइपलाइनबाट नियमित इन्धन आपूर्ति हुनेछ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीले संयुक्तरूपमा पाइपलाइन उद्घाटनगर्नेछन्। उदघाट्नका बेला भारतीय प्रधानमन्त्री मोदीले हैदरावाद र नेपालका प्रधानमन्त्री ओलीले एकै समयमा रिमोट थिच्नेछन्। त्यो रिमोटको सेन्सरले कम्प्युटरको सेन्सरले समात्नेछ। यसरी कम्प्युटरले सेन्सरको सहयोगमा मोदीको रिमोट थिचाइले अमलेखगञ्जस्थित डिपोको युनिटको भल्व खुल्नेछ। यसपछि ओलीको रिमोट थिचाइले उक्त डिपोमा इन्धन खसालिनेछ।
यो प्रविधिको प्रयोगसम्बन्धी जानकारी मोतिहारीस्थित इन्डियन आयल कर्पोरेसनको डिपो (आईओसी), अमलेखगञ्जको डिपोसहित हैदरावादस्थित मोदीको निबास र काठमाडौंको बालुवाटारस्थित ओलीको निबासमा जडान गरिएको विशेष प्रकारको भिडियो कन्फरेन्समार्फत एक अर्कालाई जानकारी दिइनेछ।
उदघाट्नसँगै पहिलो चरणमा पाइपलाइनमार्फत अमलेखगञ्जको डिपोमा डिजेल खसालिनेछ। नेपाल आयल निगमको अमलेखगञ्जस्थित क्षेत्रीय प्रमुख प्रदिपकुमार यादवका अनुसार पाइपलाइनको काम सम्पन्न भए पनि अबको १५ दिनभित्रमा अन्तिम रूप दिन लागिएको छ। ‘
यादवका अनुसार यो पाइपलाइनमार्फत प्रतिघण्टा दुई सय किलोलिटर इन्धन अमलेखगञ्जको डिपोमा खसालिनेछ। पेट्रोल र मट्टीतेलको भण्डारण गर्ने थप डिपो तयार नभएकाले करिब दुई वर्षसम्म पाइपलाइनबाट डिजेलमात्रै आपूर्ति हुनेछ। डिपो तयार भएपछि पेट्रोल र मट्टीतेल पनि आपूर्ति गरिनेछ। पाइपलाइनबाट आउने डिजेल भण्डारण गर्न अहिले तीन हजार नौ सय किलोलिटरको दुई र चार हजार तीन सय किलोलिटरको दुई डिपो अद्यावधिक गरिसकिएको छ।
उनका अनुसार आईओसीले बरौनी–पटनासम्म आएको पाइपलाइनलाई मोतिहारीसम्म ल्याएको छ। नेपालमा ओछ्याइएको पाइपलाइनलाई यही मोतिहारीको पाइपलाइनमा जोडिएको हो। मोतिहारीबाट रक्सौलको इन्डो–नेपाल सीमासम्म ३२.८० किलोमिटर र इन्डो–नेपाल सीमादेखि अमलेखगन्जस्थित क्षेत्रीय डिपोसम्म ३६.२८ किलोमिटर खण्डमा पाइपलाइन ओछ्याइएको हो।
यसअघि रक्सौलस्थित भारतीय डिपोबाट पाइपलाइन विस्तार गर्ने योजना थियो। तर, भारतीय सरकारले वातावरणीय प्रदूषण र उच्च जोखिम भन्दै रक्सौलबाट डिपो हटाउने निर्णय गरेपछि मोतिहारीको पाइपलाइनमा अमलेखगञ्जको पाइपलाइन जोडिएको हो। पाइपलाइनबाट भित्र्याइने इन्धनका विषयमा भने आईओसी र निगमबीचको सम्झौता प्रत्येक ५–५ वर्षमा नवीकरण गर्ने व्यवस्था गरिएको छ। यादवले भने,‘निगमले तेस्रो मुलुकसँग पनि इन्धन आयात गर्न पाउने सम्झौतामा उल्लेख छ। ’