काठमाडौँ: राष्ट्रकवि माधव घिमिरे विशेषाङ्क ‘राष्ट्रयभाषा २९’ को लोकार्पण गरिएको छ । नेपाली शिक्षा परिषद्ले प्रकाशन गरेको पुस्तकको वरिष्ठ साहित्यकार चित्तरञ्जन नेपालीले विमोचन गर्नुभयो ।
परिषद्को ६९औँ वार्षिकोत्सव तथा संस्थापक गोपाल पाँडे (असिम)को १०७औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा साहित्यकार नेपालीले परिषद्ले नेपाली भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै यसलाई निरन्तरता दिन सुझाव दिनुभयो ।
उहाँले भाषा, साहित्यको विकासबिना मुलुक समृद्ध हुन नसक्ने भन्दै समग्र क्षेत्रको विकासले मात्र राष्ट्रको उन्नति हुने धारणा राख्नुभयो ।
कार्यक्रममा विभिन्न व्यक्तिलाई पुरस्कृत तथा अभिनन्दन गरियो । यस वर्षको गोपाल पाँडे असिम पुरस्कार शेषराज शिवाकोटीलाई प्रदान गरिएको छ ।
उहाँलाई नगद रु ५० हजार र सम्मानपत्रबाट पुरस्कृत गरियो । ९० वर्षीय साहित्यकार चारुशिला मिश्रलाई सम्मानपत्रले अभिनन्दन गरियो ।
यस्तै भानु माध्यमिक विद्यालय दरबार हाइस्कूलबाट विसं २०७४ को एसइई परीक्षामा नेपाली विषयमा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने टोकबहादुर श्रेष्ठलाई रु पाँच हजार र प्रमाणपत्रले पुरस्कृत गरियो ।
त्यसैगरी महानन्द सापकोटा साहित्य पुरस्कार गुठीले अन्तर्राष्ट्रिय साहित्य समाजमार्फत प्रदान गर्ने महानन्द सापकोटा साहित्य पुरस्कार नेपाली शिक्षा परिषद्लाई प्रदान गरिएको छ । ५०० अमेरिकी डलरको उक्त पुरस्कार कवि विप्लव प्रतीकले परिषद्का ज्येष्ठ सदस्य तथा कोषाध्यक्ष भीमबहादुर अधिकारीलाई प्रदान गर्नुभयो । कार्यक्रममा परिषद्का सदस्य रमा शर्मा, रमेश खकुरेल, लक्ष्मण थापा, मोहन दुलाल, इन्दिरा शर्मालगायतले मन्तव्य राख्नुभएको थियो ।