काठमाडौँ: धान रोपाईं हुने क्षेत्रफलमध्ये देशभर ९४ दशमलव ४३ प्रतिशत क्षेत्रमा वर्षे धान रोपाईं सम्पन्न भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभरीको १३ लाख ७१ हजार ७०६ हेक्टर वर्षे रोपाईं हुने क्षेत्रफलमध्ये यस वर्ष करीब १२ लाख ९५ हजार २८५ हेक्टर जमिनमा रोपाईं सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
ढिलो गरि मनसून शुरु हुँदा प्रभावित भएको रोपाईं साउनको दोश्रो साता देखि निरन्तर वर्षा हुँदा धान रोपाईंमा उल्लेख सुधार आएको मन्त्रालयका सचिव डा. युवकध्वज जि.सीले बताए ।
यस वर्ष लगभग गत वर्षकै हाराहारीमा रोपाईं हुनु देशको लागि राम्रो संकेत भए पनि उत्पादन भने गत वर्षको हाराहारीमा हुनेमा आशंका भएको उनले बताए ।
गत वर्ष ९५ दशमलब ३९ प्रतिशत जमिनमा रोपाईं भएको थियो भने ५६ लाख १० हजार मेट्रिक टन धान फलेको थियो ।
ढिलो गरि रोपाईं हुँदा धानको बेर्नाको उत्पादन क्षमता कमहुने उनको भनाई छ ।
हालसम्म उच्च पहाडमा ९७ दशमलव ९३ प्रतिशत अर्थात् ४७ हजार १९४ हेक्टरमा, मध्यपहाडमा ९१ दशमलव ९५ प्रतिशत अर्थात्त तीन लाख १८ हजार २४४ हेक्टर र तराईमा ९५ दशमलव १३ प्रतिशत अर्थात् नौ लाख २९ हजार ८४३ हेक्टरमा रोपाईं सम्पन्न भएको छ ।
त्यसैगरी यो वर्ष सबै भन्दा बढी रोपाईं सुदुरपश्चिम प्रदेशमा सत प्रतिशत अर्थात् एक लाख ६४ हजार ६३९ हेक्टरमा रोपाईं सम्पन्न भएको छ ।
प्रदेश-३ मा ९६ दशमलब ९५ प्रतिशत अर्थात् एक लाख ११ हजार ७८४ हेक्टरमा, कर्णाली प्रदेशमा ९६ दशमलब १६ प्रतिशत अर्थात् ३६ हजार ९१० हेक्टरमा र प्रदेश -५ मा ९४ दशमलब ३९ प्रतिशत अर्थात् दुई लाख ८६ हजार ५७२ हेक्टरमा रोपाईं भएको छ ।
यो वर्ष सबै भन्दा कम रोपाईं गण्डकी प्रदेशमा भएको छ जहाँ कुल धान रोपाईं हुने जमिनको ८८ दशमलब ९२ प्रतिशत अर्थात् ९६ हजार २७९ हेक्टरमा रोपाईं सम्पन्न भएको छ ।
प्रदेश-२ मा कुल तीन लाख ६५ हजार ६१५ हेक्टरको ९३ दशमलब ३१ प्रतिशत अर्थात् तीन लाख ४१ हजार १६० हेक्टर जमिनमा रोपाईं भएको मन्त्रालयले जनाएको छ ।
