काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीभित्र अनुशासन खस्कँदै गएको भन्दै कुनै पनि विषय पार्टीभित्र नराखी सार्वजनिक रुपमा प्रचारबाजी गर्नेमाथि कारवाही गर्ने निर्णय गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का अध्यक्षतामा पार्टी कार्यालय धूम्रबाराहीमा आज बसेको सचिवालय बैठकले कुनै पनि विषयलाई पार्टीभित्र छलफल नगराई सार्वजनिक रुपमा लगिए स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
सम्बन्धित व्यक्तिले दिएको स्पष्टीकरण पार्टीलाई चित्त नबुझे आवश्यक कारवाही गर्ने निर्णयसमेत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
पछिल्लो समय नेकपाका केही जिम्मेवार नेता, कार्यकर्ता सार्वजनिक रुपमै पार्टी र नेतृत्वका विरुद्धमा अनावश्यक टीकाटिप्पणीमा उत्रिएपछि बैठकले पार्टी अनुशासन उल्लङ्घन गर्नेलाई कारवाही गर्ने निर्णय गरेको हो ।