चितवन: पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका टिभी कार्यक्रम सञ्चालक रवि लामिछाने, पत्रकार युवराज कँडेललाई धरौटीमा र अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ ।
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जना धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएको हो ।
जिल्ला अदालत चितवनका रजिष्टार रुद्रमणि गिरीले लामिछानेलाई ५ लाख , सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको बताए । उनले अनलाइनखबरसँग भने, ‘अब उहाँहरुले धरौटी बुझाएपछि थुनामुक्त गरिनेछ ।’
धरौटीमा छुटेपछि पनि बाँकी कानूनी प्रक्रियाको सामना गर्नेछन् ।
यस्तै, जिल्ला अदालतले रविलाई ५ लाख रुपैयाँ, युवराज कँडेललाई ३ लाख रुपैयाँ र अस्मिता कार्कीलाई सामान्य तारेखमा छोड्न आदेश दिएको श्रेस्तेदार रुद्रमणी गिरीले जानकारी दिएका छन्।
आइतबार तीनजना विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो। आइतबार ढिला गरी अभियोग पत्र दर्ता भएपछि अस्मिता कार्कीको मात्रै बयान गरेर तीनैजनालाई अदालतले न्यायीक हिरासतमा राखेको थियो। सोमबार बिहानै सुरुमा युवराज कँडेल र त्यसपछि रविको बयान भएसँगै थुनछेक बहस प्रारम्भ भएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनले हिजै सम्पूर्ण अनुशन्धान पुरा गरी फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको थियो।
रवि लगायत तीनैजना विगत ११ दिनदेखि प्रहरी हिरासत थिए।
आत्महत्या दुरुत्साहनका आरोपी रवि लामिछानेको रिहाइको माग गर्दै चितवन जिल्ला प्रहरी कार्यालय परिसरमा हुलदंगा मच्चाउनेमाथि प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो।