काठमाडौं : डेंगुबाट संक्रमित वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत अस्पताल भर्ना भएका छन ।
महामारीको रुप लिएको डेंगुबाट डा. रुइतका दुई छोरीहरु समेत संक्रमित भएका छन् ।
उनीहरु सबैको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
तिलगंगा आँखा अस्पतालका निर्देशक डा. रुइतलाई लगातारको ज्वरो आएपछि शंकाका आधारमा रगत जाँच गर्दा डेंगुको संक्रमण देखिएको नर्भिकका चिकित्सकले बताएका छन ।
हजारौंलाई दृष्टि दिएका डा. रुइत भारत सरकारको प्रतिष्ठित पदक पद्मश्रीबाट सम्मानित भइसकेका छन भने कैयौं राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कार समेत पाइसकेका छन ।
यसअघि कृषिमन्त्री चक्रपाणि खनाल समेत लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगबाट संक्रमित भएपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका थिए ।
यसैबीच डेंगुको संक्रमणबाट अहिलेसम्म ४ जनाको मृत्यु भएको सरकारले जानकारी दिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आधिकारिक रुपमा चार जनाको मात्रै डेंगुबाट मृत्यु भएको पुष्टि भएको छ ।
अहिले देशभर करीब २ हजार ६ सय बिरामी डेंगुको संक्रमणका कारण विभिन्न अस्पतालमा उपचाररत छन ।