काठमाडौं: नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच कुल १६५ मिलियन अमेरिकी डलर (२५ अर्ब ८ करोड ६६ लाख रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।
अर्थ मन्त्रालयमा सोमबार (आज)आयोजित एक समारोहमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन (क्षेत्रीय) आयोजना र दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) तथा ढुवानी–आपूर्ति प्रणाली सुधार कार्यक्रम (दोस्रो उपकार्यक्रम) का लागि उक्त ऋण सम्झौतामा हस्ताक्षर गरिएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाको उपस्थितिमा सम्पन्न कार्यक्रममा नेपालको तर्फबाट अर्थसचिव डा. घनश्याम उपाध्याय तथा एडीबीको नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आर्नो कुश्वाले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार एकीकृत खानेपानी तथा ढल व्यवस्थापन (क्षेत्रीय) आयोजना का लागि ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराइनेछ ।
यो रकम स्थानीय तहमा खानेपानी तथा ढल व्यवस्थापनसम्बन्धी एकीकृत पूर्वाधार निर्माण तथा विस्तारमा खर्च गरिने जनाइएको छ ।
त्यसैगरी, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग ९सासेक० तथा ढुवानी–आपूर्ति प्रणाली सुधार कार्यक्रम (दोस्रो उपकार्यक्रम) अन्तर्गत ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध हुनेछ ।
उक्त रकम भन्सार कार्यप्रक्रियाको आधुनिकीकरण, ढुवानी तथा आपूर्ति प्रणाली (लजिस्टिक्स) सुधार र ती सुधारका लागि बजेट सहयोगस्वरूप परिचालन गरिनेछ ।
समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक तथा पूर्वाधार विकासमा एडीबीले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै आगामी दिनमा दुवै पक्षबीचको विकास साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।
एडीबीका अध्यक्ष मासातो कान्दाले नेपालसँग रहेको छ दशक लामो सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउँदै अघि बढाउने प्रतिबद्धता जनाए ।
उनले नेपालले सामना गरिरहेका बाह्य तथा आन्तरिक चुनौतीहरू समाधान गर्न एडीबी निरन्तर सहयोगी रहने तथा नेपालको विकास प्राथमिकतासँग बैंकका कार्यक्रमहरू मेल खाने बताए ।
समारोहमा नेपाल सरकार तथा एसियाली विकास बैंकका उच्चपदस्थ अधिकारीहरूको समेत सहभागिता रहेको थियो ।
