डोटी : तीन दिनदेखिको लगातारको वर्षाका कारण जिल्लाका ग्रामीण सडकहरु अवरुद्ध भएका छन् ।
लगातारको वर्षापछि जिल्लाका विभिन्न स्थानमा रहेका ग्रामीण सडकहरुमा पहिरो खस्दा यातायात आवागमनमा कठिनाइ भएको शैलेश्वरी यातायात व्यवसायी समिति दिपायल डोटीले जनाएको छ ।
ग्रामीण सडकमा पहिरो आउँदा उक्त सडकमा चल्ने सार्वजनिक यातायातका यात्रुले कष्टकर यात्रा गर्न बाध्य भएका छन् ।
पहिरोका कारण केआइसिंह गाउँपालिकाबाट बोगटान फुड्सिलसम्म जाने कच्ची मार्गमा समेत दुई दिनदेखि यातायात सञ्चालन हुननसकेको स्थानीयवासी सुमन भट्टले बताए ।
त्यस्तै जिल्लाको मौवा मेल्लेक सडकखण्डका विभिन्न ठाउँहरुमा पनि वर्षाले पहिरो आउँदा यातायातका साधन चलाउन समस्या भएको शैलेश्वरी यातायात समितिका रुट इन्चार्ज प्रेमबहादुर रावलले बताए ।
त्यसैगरी दिपायलदेखि गडसेरा जोड्ने सडकमा पनि पहिरो आउँदा उक्त सडकमा यातयातका साधन चल्न बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।
जिल्लाका अन्य बिपीनगर–गड्सेरा, सिलगढी–झिग्राना, शान्तिनगर–नारी–दाङ, मौवा–सायल, तल्कोट–धुर्कोट सडकमा समेत पहिरो र पानीले गर्दा यातायात सञ्चालनमा कठिनाइ भएको यातायात व्यवसायी बताउँछन् ।
पहिरोले ग्रामीण सडकमा यातायात सञ्चालन गर्न निकै समस्या भएको शैलेश्वरी यातायात समितिका जिपचालक मदन विकले बताए ।
अधिकांश ग्रामीण सडकमा पानी निकास हुने नालासमेत नहुँदा सडकबाटै भल बग्ने गरेका कारण पनि सडक भासिने र भत्किने बढी सम्भावना भएको डिभिजन सडक कार्यालय दिपायल कुल्पातेका डम्बर विष्टले जानकारी दिए ।
यतिमात्र नभई यहाँका सञ्चालनमा रहेका बुडर–जोरायल, बिपीनगर–सुवाखान, अत्तरकाडा, बागछेडालगायतका सडकको यात्रा पनि भयावह हुँदै आएको छ ।
साघुँरा सडक तथा डोजर सञ्चालकको सनकका भरमा काटिएका यहाँका ग्रामीण सडकमा यातयातका साधन चलाउन निकै समस्या हुँदै आएको महाकाली यातायत समितिका दिपायल प्रमुख धनबहादुर बोहराले बताए ।