पोखरा : आश्विन कृष्णपक्ष (पितृपक्ष)का अवसरमा हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ जाने तीर्थयात्रीहरूका कारण पोखरादेखि मुक्तिनाथसम्म चहलपहल बढेको छ ।
प्रत्येक वर्ष पितृपक्षका अवसरमा मुस्ताङको कागबेनीमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गरेमा पितृको उद्धार हुने विश्वासका कारण देशका विभिन्न भागका दर्शनार्थी मुक्तिनाथ पुग्ने गरेका हुन् ।
मुक्तिनाथ जाने प्रमुख नाका पोखरा भएकाले यहाँबाट पर्वत, म्याग्दी हुँदै स्थलमार्गबाट एक दिनको यात्रामा मुक्तिनाथ पुग्न सकिन्छ भने हवाई मार्गबाट आधा घण्टाको उडानमा जोमसोम विमानस्थल हुँदै पनि जान सकिन्छ ।
पोखरा विमानस्थलबाट जोमसोमसम्म समिट र तारा एयरलायन्सले दैनिक उडान गरिरहेकामा सोह्र श्राद्धको समयमा केही उडान थप गर्ने गरेको पोखरा विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिएका छन ।
मुक्तिनाथ जाने आन्तरिक तीर्थयात्रीभन्दा भारतीय तीर्थयात्रीले हवाई उडान बढी प्रयोग गर्ने गरेको जानकारी दिँदै उनले सोह्र श्राद्धको समयमा लगभग १० वटासम्म उडान हुने गरेको बताए ।
प्रशासकीय अधिकृत पौडेलका अनुसार यति एयरलाइन्सले पोखरा भैरहवा उडान गरेका कारण भैरहवा नाका हुँदै आउने भारतीय पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अघिल्लो वर्ष मुक्तिनाथको दर्शन गरेपछि, भारतीय पर्यटकको सङ्ख्या बढ्न थालेको पर्यटन व्यवसायीहरू बताउँछन् ।
पोखरादेखि पर्बत, म्याग्दी हुँदै स्थलमार्गबाट पुग्ने बाटो पनि राम्रो भएका कारण स्थलमार्गबाट मुक्तिनाथ जानेको सङ्ख्या पनि उत्तिकै बढेको छ ।
कतैकतै बाटो बिग्रने भत्कनेजस्ता समस्याले स्थलमार्गबाट आवागमन कहिलेकाही असहज हुने भए पनि अधिकांश बाटो राम्रो भएकोले स्थलमार्ग नै तीर्थयात्रीको रोजाइमा पर्ने गरेको छ ।
सोह्र श्राद्ध शुरु भएसँगै दुई दिनदेखि तीर्थयात्रीको चहलपहल बढेको मुक्तिनाथको रानीपौवास्थित होटेल ग्राण्ड साम्बालाका सञ्चालक सुरज गुरुङले जानकारी दिए ।
रानीपौवामा दैनिक दुई हजारसम्म पर्यटकलाई राख्न सक्ने गरी होटेलको व्यवस्था गरिएको छ ।
सोह्र श्राद्ध गर्न जाने तीर्थयात्रीले कागबेनीमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गर्ने गरेको त्यहाँका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।
सोह्र श्राद्ध शुरु भएसँगै मन्दिरमा दर्शनार्थीको चाप बढेको उल्लेख गर्दै उनले यो क्रम आश्विन कृष्णपक्ष नसकिदासम्म जारी रहने बताए ।
जोमसोमदेखि २२ किलोमिटर पूर्वोत्तरमा रहेको मुक्तिनाथ मन्दिर समुन्द्री सतहबाट तीन हजार ७०० मिटरको उचाइमा छ । त्यहाँ पुग्न पोखरा, काठमाडौँ, सुनौली, बेनी र मालढुङ्गाबाट सवारीसाधन पाइन्छन् ।
हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथलाई भगवान् विष्णुको पूण्यभूमि मानिन्छ ।
भगवान् विष्णुको शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको १०८ धारा बनेको किम्बदन्ती छ ।
त्यहाँका १०८ धारामा स्नान र मुक्तिनाथको दर्शन गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ ।
प्राचीनकालदेखि नै यहाँ रहेको मुक्तिनाथको मूर्तिलाई विसं १८७१ मा मन्दिर बनाइएको थियो ।
यही स्थलमा बौद्ध गुरु पद्मसम्भवले पनि तिब्बत जाने बेला तपस्या गरेको भन्दै यहाँ विभिन्न गुम्बासमेत बनाइएका कारण बौद्ध धर्मावलम्बीले पनि यस स्थललाई पवित्र तीर्थस्थलका रुपमा लिन्छन् ।
कागबेनीस्थित कालीगण्डकी नदीको तटमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गरेमा पितृ तर्ने विश्वासका कारण आश्विन कृष्णपक्षको अवधिमा यहाँ गरिने दर्शनलाई अत्यन्त महत्वका साथ हेर्ने गरिन्छ ।