काठमाडौँ: बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएको बिषयलाई लिएर कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिनु पर्ने बाताबरण सिर्जना भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कानुनमन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएको स्रोतले जनाएको छ । उनले आजै मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्ने बताईएको छ ।
बंगलादेशमा एमबिबिएस पढ्न जाने छात्राबारे उनले दिएको अभिव्यक्तिपछि उनको चौतर्फी आलोचना भएको छ।
मन्त्री तामाङले शुक्रबार राजधानीको एक विद्यालयमा आयोजित कार्यक्रममा बंगलादेशमा एमबिबिएस पढ्न जाने छात्राले आफूलाई नसुम्पी सर्टिफिकेट नपाउने बताएका थिए।
नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मित बेच्न बाध्य हुनु पर्ने गरेको दाबी गरेका थिए ।
यसको सर्वत्र आलोचना भएपछि मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी मागे ।