काठमाडौं: राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण प्रक्रिया टुंगोमा पुग्न लाग्दा राजपाका नेताले एकीकृत पार्टीको नाम समाजवादी जनता पार्टी नेपाल राख्न प्रस्ताव गरेका छन्।
प्रस्तावमा समाजवादी पार्टीका नेतासमेत सकारात्मक भएको राजपाका नेताको भनाइ छ।
पार्टी एकीकरणका लागि भएको औपचारिक संवादमा राजपाले ३ वटा सर्त राखेको हो। राजपाका नेताहरूले समाजवादी पार्टीका नेतालाई भेटेरै एकीकृत पार्टीको नाम समाजवादी जनता पार्टी नेपाल हुनुपर्ने, महन्थ ठाकुरलाई पहिलो स्थानमा राख्नुपर्ने तथा एकीकणअघि समाजवादी पार्टीले सरकार छाड्नुपर्ने सर्त राखेका हुन्।
४ दिनअघिको भेटमा राजपाबाट महन्थ ठाकुर, शरतसिंह भण्डारी तथा समाजवादी पार्टीबाट अध्यक्ष डा.बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ, नवराज सुवेदी उपस्थित थिए।
भेटमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव काठमाडांैबाहिर भएकोले बैठकमा उपस्थिति हुन सकेनन्।
भेटमा राजपाका नेताहरूले एकीकृत पार्टीमा ४ सदस्यीय अध्यक्षमण्डल राख्नुपर्ने सुझाव दिँदै अध्यक्षमण्डलमा नसमेटिने महन्द्र यादव र शरतसिंह भण्डारीलाई एकीकृत पार्टीमा वरिष्ठ नेताको पद दिनुपर्ने सर्त राखेका थिए। हाल राजपाका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादव र अनिल झाको विषयमा केही कुरा नभएको स्रोतको दाबी छ।