काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले ठूला राष्ट्रको स्वार्थबाट आफुलाई जोगाइ राख्नुपर्ने चुनौति थपिएको बताएका छन् ।
हालै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि विश्वको ध्यान नेपालतिर आकर्षित भएको भन्दै सीले भ्रमणको सफलतासँगै खतरा पनि बढेको बताए ।
नेपालले शनिबारराजधानीमा गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै उनले सबै ठूला राष्ट्रका आ-आफ्ना किसिमका स्वार्थ हुने भएकाले ती स्वार्थ पुरा गर्ने माध्यम बन्नबाट आफूलाई जोगाईराख्नु मुख्य चुनौति भएको बताए ।
नेपालले पञ्चशिलताको सिद्धान्तको आधारमा स्वतन्त्रता, स्वभिमान, आन्तरिक मामिलामा अहस्तक्षेपको सुनिश्चिता गर्दै छिमेकी राष्ट्रसंगको सम्बन्ध कायम गर्नुपर्नेमा उनले जोड दिए ।
उनले गैर आवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि निर्वाचित पदाधिकारीलाई नेपालप्रतिको उद्देश्यमा स्पष्ट हुन आग्रह गरे ।
नेता नेपालले पूँजी, सिप र प्रविधिको राम्रो प्रयोग गरेर मुलुकलाई आर्थिक रुपान्तरणको बाटोमा अग्रसर गराउनुपर्ने र त्यसका लागि बानी व्यवहारमा परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याए । उनले नियम कानुनलाई खुकुलो बनाई लगानीमैत्री वातावरण सृृजना गरि स्वदेशमै रोजगारीको अवसरहरु सृजना गर्नुपर्ने बताए ।