काठमाडौं : अनसनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले राजधानी आउन अस्विकार गरेका छन ।
उनलाई उपचार गर्नका लागि नेपाली सेनाको हेलिकोप्टर डडेल्धुरा पुगेको थियो । यद्यपि डा. केसी आउन नमानेपछि हेलिकप्टर डडेल्धुरास्थित सेनाको गणमा राखिएको छ ।
आठ दिन अघिबाट सत्रौँं अनसन सुरु गरेका केसीको स्वास्थ्य अवस्था बिग्रेपछि उनलाई लिन सेनाको हेलिकप्टर आज बिहान त्यहाँ पुगेको थियो ।
उनी यतिबेला डडेल्धुरा जिल्ला अस्पतालमै छन । अस्पतालले आईसीयूलगायत सुविधा नभएकोले केसीलाई सुविधासम्पन्न ठाउँमा लैजान आग्रह गरेको थियो।
अस्पतालका अनुसार डा. केसीको ब्लड प्रेसर घट्न लागेको, मुटुको चालमा वृद्धि भई समस्या देखिएको, रगतमा अक्सिजनको मात्रा घटेको, मिर्गौलामा समस्या देखिएको छ।
यस्तै, उनको स्वास्थ्य अवस्था कमजोर बनेको अस्पतालले जनाएको छ।
डा. केसीले गत सोमबार डडेल्धुरा पुगेर १७ औँ अनसन सुरु गरेका हुन्। आफूसँग भएका पूर्वसहमति कार्यान्वयन गर्नुपर्ने डा. केसीको अडान छ।