काठमाडौं : मन्त्री हेरफेरका विषयमा नेकपा अध्यक्ष प्रचण्डलाई जोडेर प्रकाशित समाचार भ्रामक भन्दै प्रचण्डको निजी सचिवालयले खण्डन गरेको छ।
प्रचण्डको निजी सचिवालयले आज मंगलबार बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारको खण्डन गरेको हो।
‘हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका बिषयमा अध्यक्ष प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित र प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भत्सना र खण्डन गर्दछ,’ विज्ञप्तीमा भनिएको छ ।
‘मन्त्री मण्डल फेरबदलको बिषय प्रधानमन्त्री केपी शर्मा ओलीकै क्षेत्राधिकारको बिषय रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले बारम्बार जोड दिईरहेको तथ्य सबैमा विदितै छ,’ विज्ञप्तीमा अगाडि भनिएको छ, ‘पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुश्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौं।’