काठमाडौँ: पञ्चकन्या माईको आइपीओ शुक्रबार बाँडफाँट गरिएको छ । पञ्चकन्याको आइपीओमा गोलाप्रथाबाट १ लाख १०० जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । ४६ हजार २८९ जना भने आइपीओ पाउनबाट वञ्चित भएका छन् ।
आइपीओमा कुल १ लाख ४६ हजार ३८९ जना आवेदकले १ करोड ८४ हजार ७३० कित्ताका लागि आवेदन दिएका थिए । पञ्चकन्या माई हाइड्रोपावरले साउन १ गतेदेखि ४ गतेसम्म ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
यसमध्ये ४४ हजार ९४५० कित्ता कम्पनीका कर्मचारी र ५५ हजार कित्ता ९५५० सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी १० लाख १ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । पञ्चकन्याले यसअघि इलाम जिल्लाका स्थानीय बासिन्दाका लागि ११ लाख कित्ता आइपीओ बिक्री गरेको थियो ।
आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ पुगेको छ । कम्पनीले इलाम जिल्लामा १२ मेगावाटको अपर माई जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यसैगरी, ६ दशामलव १ मेगावाटको अपर माई ‘सी’ आयोजना पनि निर्माणाधीन छ ।