काठमाडौँ: मासुका लागि प्रयोग गरिने जनावरबाट निस्कने दिसाजन्य फोहरबाट बायोग्यास उत्पादन गर्न सके काठमाडौँ उपत्यकामा वातावरण प्रदूषण कम गर्न सकिने विज्ञको सुझाव छ । काठमाडौँ उपत्यकालाई प्रदूषण पार्ने तत्वमध्ये मासुजन्य वस्तुबाट निस्कने फोहर पनि मुख्यरूपमा रहेकाले यसको व्यवस्थितरूपमा व्यवस्थापन गर्नुपर्ने विज्ञ बताउँछन् ।
काठमाडौँ उपत्यकामा मात्रै दैनिक ८०० राँगाभैँसी बध गर्ने गरिएको छ । यहाँ एउटा राँगाभैँसीबाट १०० किलो फोहर निस्कने गरेको छ । त्यसको व्यवस्थापन पक्ष भने प्रभावकारी छैन, न त पशुबध गर्ने स्थान नै व्यवस्थित छ । हालसम्म राति नदी किनारामा पशुबध गरिँदै आएको छ । मासुजन्य वस्तुबाट निस्कने फोहरमध्ये खसी, बोका र कुखुराभन्दा पनि भैँसी र राँगाबाट निस्कने फोहरले वातावरणलाई बढी प्रभाव पारेको छ।
वातावरणविज्ञ भूषण तुलाधर भन्छन, “उपत्यकामा अहिले पशुबध गर्ने स्थानभन्दा पनि तिनबाट निस्केको फोहर वस्तु व्यवस्थापन हुन नसक्नु मुख्य समस्याको रूपमा रहेको छ ।” हाल पशुबध गरिएको स्थानलाई केही व्यवस्थापन गरी ती पशुबाट निस्केको दिसाजन्य वस्तु (लादी)बाट बायोग्यास उत्पादन नगरेसम्म यस्ता फोहर व्यवस्थापन गर्न समस्या रहेको उहाँले बताउनुभयो ।
मारिएका पशुबाट निस्केको फोहर पुनःप्रयोग गर्न सकिने भएकाले कठिन विषय होइन । राँगाभैँसीबाटै अत्यन्तै धेरै फोहर निस्कने गर्छ । निस्केको फोहरमध्ये छाला र हाड यसअघि पनि पुनःप्रयोग हँुदै आएको छ भने लादीलाई पनि प्रयोग गर्न सकिन्छ । यसको एक मात्र उपाय बायोग्यास उत्पादन गर्नु हो ।
पशुबाट निस्केको लादीबाट बायोग्यास उत्पादन गर्न सकिन्छ, जुन बध गरिएको स्थान नजिकै राख्दा सजिलो हुने तुलाधरले सल्लाह दिनुभयो । त्यसका लागि काठमाडौँ महानगरपालिकाले वार्षिक बजेटको व्यवस्थापन गरी काम अघि बढाउनुपर्ने उनको सुझाव छ । लादी व्यवस्थापनको उपाय अवलम्बन नगर्ने हो भने हरेक दिन मासु प्रयोगकर्ताको सङ्ख्या बढिरहेको समयमा यसबाट निस्कने फोहर व्यवस्थापन गर्नु झन् ठूलो चुनौतीका रूपमा देखिने छ ।
