पोखरा: नेपालकी सङ्गीता राईले १३औ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा कास्य पदक जित्दै राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।
तेह्रौँं दक्षिण एशियाली खेलकूद(साग) अन्तर्गत पोखरा –१२, माटेपानीस्थित एसआर केसी बैंक्वेटमा आजदेखि शुरु प्रतियोगितामा उनले ४५ केजी तौल समूहमा १२७ केजी भार बहन गर्दै करिना चौधरीको नाममा रहेको रेकर्ड तोडेकी हुन् । २६ वर्षीया राईले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७० गरी कुल १२७ केजी भार बहन गरेकी हुन् । यसअघि छनोट चरणमा चौधरीको नाममा स्न्याचमा ४७ र क्लीन एण्ड जर्कमा ६५ सहित ११२ केजीको रेकर्ड रहेको भारोत्तोलनका लागि नेपालका प्रशिक्षक दिनेश भुजेलले जानकारी दिए ।
उक्त खेलमा भारतकी झिली डालाबेराले स्न्याचमा ६६ र क्लीन एण्ड जर्कमा ८५ गरी १५१ भार बहन गर्दै स्वर्ण जितिन् भने श्रीलङ्काकी सीमारी सामाराकूलले १३९ भार बहन गर्दै रजत जितिन् । श्रीलङ्कन खेलाडीले स्न्याचमा ५८ र क्लीन एण्ड जर्कमा ८१ केजी भार बहन गरेकी हुन् ।