काठमाडौँ: साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगमा शानदार सुरुवात गरेको छ। पहिलो खेलमै साविक उपविजेता सुदूरपश्चिम रोयल्समाथि ७ विकेटको जित हात पारेको हो।
सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले तीन विकेटको क्षतिमा १० औँ ओभरमा पूरा गर्यो। लुम्बिनीका लागि ओपनर डार्शी शर्टले ४० रनको योगदान गरे। १ बलको सामना गरेका शर्टले ४ चौका र ३ छक्काको मद्दतमा टोलीलाई जित नजिक पुर्याएर आउट भए।
आसिफ शेख टोलीलाई ६ रन आवश्यक पर्दा ३२ रनमा आउट भए। उनलाई पनि खरेलले नै दिपेन्द्रको हातबाट क्याचआउट गराए। आसिफ यहि सिजन जनकपुरबाट रिलिज भएर लुम्बिनीमा अनुबन्ध भएका हुन्।
उनलाई पहिलो सिजन जनकपुरले मार्की खेलाडीका रुपमा भित्र्याएको थियो। लुम्बिनीमा आएपछि उनले सम्मानजनक रन बनाएका हुन्।
अर्को ओभरमा निरोशन डिकवेला व्यक्तिगत ७ रन बनाउँदा दिपेन्द्रको बलमा बोल्ड भए। शामिम हुसेन १ र कप्तान रोहित पौडेल ५ रनमा अविजित रहे।
लुम्बिनीका किशोर महतो र शेर मल्लले सुदूरपश्चिमको ब्याटिङ ध्वस्त पारे।
सुदूरपश्चिमलाई पूरै ओभर टिक्न नदिन किशोर महतोले ४ विकेट लिँदा शेर मल्लले तीन विकेट हात पारे। महतोले २८ र मल्लले समान ४ ओभरमा ११ रन खर्चिए।
साड्ली भान स्कालविक, तिलक भण्डारी र रोहित पौडेलले समान १ विकेट लिए।
सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले २७ रनको योगदान दिँदा २३ बलमा २ चौका प्रहार गरे।
ओपनर सैफ जैवले १३ रन बनाए पनि अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। विनोद भण्डारीले ९ र इशान पाण्डेले ७ रन बनाए।
एनपीएलमा मंगलबार २ खेल हुनेछन्। पहिलो खेलमा साढे १२ बजे विराटनगर किंग्स र चितवन राइनोज तथा दोस्रो खेलमा साँझ ५ बजे कर्णाली याक्स र जनकपुर खेल्नेछन्।
