काभ्रेपलाञ्चोक : अर्थमन्त्री डा युवराज खतिवडाले पाँचखालमा निर्माणाधीन विशेष आर्थिक क्षेत्र (सेज) को अवलोकन गरेका छन् ।
अर्थमन्त्री खतिवडाले चाँडो काम सकेर सञ्चालनमा ल्याउन सरकार लागि परेको बताउदै रकम अभावका कारण काम नरोकिने प्रतिवद्धता जनाएका छन् ।
रकम निकासामा समस्या भए आफूलाई जानकारी गराउन निर्देशन दिदै राम्रो काम गर्न र समय मै सक्न आग्रहसमे गरेका थिए ।
“बजेटको कमी हुँदैन, बजेट अभावले काम रोकिँदैन, हामीले उद्योग मन्त्रालयसँग यसबारे समन्वय गरिरहेका छौँ”, उनले भने । उनले भौतिक संरचना निर्माण भइसकेपछि कतिपयमा सरकारको ध्यान नजाने भएकाले आफूहरुलाई झकझकाउन आग्रह गरे ।
मन्त्री खतिवडाले निर्माणाधिन प्रशासनिक भवन, पर्खाल तथा जग्गा लगायतका विषयमा जानकारी लिएका स्थानीय नेता कञ्चन अधिकारीले जानकारी दिए ।
अर्थमन्त्री खतिवडाले पाँचखालमा बन्न लागेको मदन भण्डारी विश्वबिद्यालय, अरनिको राजमार्ग विस्तार, औद्योगिक क्षेत्र निर्माण लगायतका काम चाँडै अगाडि बढाउने बताए ।
सेजको काम भइरहेको उक्त क्षेत्रका पर्खालको काम सकिने लागेको छ भने भवनको मुख्य संरचनाको काम भईरहेको छ । करिब १६ करोडको लागतमा सेजको पर्खाल र भवन बनिरहेको आयोजनाले जानकारी दिएको छ ।
मन्त्री खतिवडाले धुलिखेलदेखि चीनतर्फको सडक विस्तार गर्ने तयारी भइरहेको उल्लेख गर्दै सडक विस्तारपछि पाँचखालको भविष्य उच्च रहेको बताए । “सेजभित्र व्यवसाय गर्न सुरक्षित वातावरण आवश्यक पर्ने भएकाले विशेषगरी स्थानीय जनप्रतिनिधिले सुरक्षामा ध्यान दिनुपर्दछ”, उनले भने । स्थानीय उद्योगी व्यवसायीसँग छलफल गरी सेज सञ्चालन गरिने उनले बताए ।
मन्त्री खतिवडाले सरकार एक्लैले सेज सञ्चालन गर्न नसक्ने भएकाले स्थानीय सरोकारवालाले व्यवसायी खोज्नुपर्ने बताए । उनले भने, “राजमार्गदेखि सेजसम्म जाने सडक सरकारले बनाई दिनसक्छ, यसका लागि प्रदेश सरकारसँग समन्वय गर्नेछौँ ।”
पाँचखाल सेजको अवलोकनसंगै अर्थमन्त्री खतिवडा अरनिको राजमार्ग अवलोकन गर्न तातोपानी पुगेका थिए ।