नयाँ बन्दरगाहको उपयोग र रेलमार्ग विस्तारले नेपालको व्यापार लागत घटाउने अपेक्षा
काठमाडौँ: नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनले प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नेपाल र भारतबीच पारवहन तथा यातायात कनेक्टिभिटी विस्तारका विषयमा भएका सहमतिहरूको स्वागत गरेको छ ।
एसोसिएसनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पारवहन, रेलमार्ग, समुद्री बन्दरगाह तथा हवाई कनेक्टिभिटी विस्तारसम्बन्धी सहमतिहरूलाई नेपालको वैदेशिक व्यापार र समग्र आर्थिक विकासका दृष्टिले महत्वपूर्ण उपलब्धि भनेको हो ।
प्रधानमन्त्री शाहको नोभेम्बर २२ देखि २३ सम्म सम्पन्न भारत भ्रमणका क्रममा गुजरातस्थित दीनदयाल (कान्डला) बन्दरगाह र आवश्यक पूर्वाधार तयार भएपछि ओडिशास्थित पारादीप बन्दरगाहसमेत नेपालको तेस्रो मुलुकसँगको व्यापारका लागि प्रयोग गर्न सकिने घोषणाले नयाँ सम्भावना सिर्जना गर्ने एसोसिएसनको विश्वास छ ।
यसबाट नेपालको अन्तर्राष्ट्रिय व्यापारका लागि समुद्री बन्दरगाह र पारवहन मार्गका विकल्प विस्तार हुनुका साथै भविष्यमा ढुवानी समय र लागत घटाउन तथा आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने विज्ञप्तिमा उल्लेख छ ।
एसोसिएसनले उक्त बन्दरगाह प्रयोगमा ल्याउन आवश्यक कार्यविधि निर्माण तथा पारवहन सन्धिको प्रोटोकल संशोधन प्रक्रिया शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ ।
त्यसैगरी, प्रस्तावित रक्सौल–काठमाडौँ विद्युतीय ब्रोडगेज रेलमार्गको अन्तिम स्थान सर्वेक्षण सम्पन्न भएको घोषणा तथा नेपालको पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने सहमतिलाई दीर्घकालीन यातायात तथा लजिस्टिक्स पूर्वाधार विकासका लागि महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।
रेलमार्गको विकासले ठूलो परिमाणमा मालसामान ढुवानी सहज बनाउनुका साथै सडक यातायातमाथिको निर्भरता घटाउन, ढुवानी लागत न्यूनीकरण गर्न र नेपालको व्यापारिक प्रतिस्पर्धात्मक क्षमता बढाउन सहयोग पुग्ने एसोसिएसनले जनाएको छ ।
त्यस्तै, काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमतिले हवाई कनेक्टिभिटी विस्तारमा सकारात्मक योगदान पुर्याउने विज्ञप्तिमा उल्लेख छ । यसबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार हुनुका साथै भविष्यमा हवाई कार्गो तथा व्यापारिक गतिविधि प्रवर्द्धनका लागि समेत अनुकूल वातावरण बन्ने अपेक्षा गरिएको छ ।
यी सहमतिहरूको प्रभावकारी कार्यान्वयनले नेपालको अन्तर्राष्ट्रिय व्यापारमा नयाँ अवसर सिर्जना गर्नुका साथै लजिस्टिक्स लागत घटाउन, व्यापार प्रक्रिया सरल बनाउन, निर्यात प्रवर्द्धन गर्न र औद्योगिक उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न योगदान पुर्याउने एसोसिएसनको भनाइ छ ।
सहमति कार्यान्वयनका लागि सरकारले आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक प्रक्रिया समयमै अघि बढाउनुपर्नेमा जोड दिँदै एसोसिएसनले विद्यमान पारवहन प्रक्रियालाई थप सरल, पारदर्शी र व्यवसायमैत्री बनाउन आग्रह गरेको छ ।
साथै, निजी क्षेत्र तथा सम्बन्धित सरोकारवालासँग समन्वय र परामर्श गरी कार्यान्वयनका क्रममा देखिन सक्ने व्यावहारिक समस्या समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

