काठमाडौंस् काफ्ले समाज नेपालको १८औं वार्षिक साधारणसभा तथा ८औं अधिवेशनले गुणराज काफ्लेको नेतृत्वमा नयाँ कार्यसमित चयन गरेको छ । समाजको शनिबार सम्पन्न अधिवेशनले कार्यसमिति चयन गरेको हो ।
देशभरका काफ्लेहरूको सञ्जाल अब अन्तर्राष्ट्रिस्तरसम्म विस्तार गरेर बन्धुहरूबीच सदभाव कायम गर्न आफूले सक्दो पहल गर्ने अध्यक्ष काफ्ले बताए । ‘हाम्रो सञ्जाल विस्तार तथा लोककल्याणकारी काम गर्न अबका दिनमा अझ चुनौती थपिँदै गएको छ,’ उनले भने, ‘चुनौती सामना गर्दै समाजका लागि आम्दानी हुने आर्थिक गतिविधिमा म कटिबद्ध हुनेछु ।’
बूढानिलकण्ठ नगरपालिकास्थित भंगालमा समाजको नयाँ भवन निर्माण गरिएको छ । यसलाई पूर्णता दिन बाँकी रहेकाले आफ्नो पहिलो काम यही हुने काफ्लेले बताए । साथै, तनहुँको देवघाटमा काफ्लेहरूको साझा भवन ‘शन्डिल्य आश्रम’ निर्माण चरणमा छ । यसका लागि आवश्वक पुँजी संकलन गर्न बन्धुहरूबीच भेटघाट, सहकार्य र समन्वय गर्न जरुरी रहेको पनि उनले बताए ।
काफ्ले अघिल्लो कार्यकालमा पनि अध्यक्षको जिम्मेवारीमा थिए । उनको मिलनसार व्यवहार, काम, दक्षता, समन्वय, सहकार्य र नेतृत्व गर्ने क्षमताका कारण पुनः अध्यक्षको जिम्मेवारी दिइएको समाजले जनाएको छ । बन्धुहरूले सुम्पेको जिम्मेवारी पूरा गर्न आफू हरक्षण तत्पर रहेको उनको भनाइ छ ।
कार्यक्रममा समाजका संरक्षक नीलकण्ठ काफ्लेले अबको नेतृत्व तथा कार्यसमिति देवघाटमा निर्माण हुने आश्रमका लागि खटिनुपर्ने बताए । ‘आश्रम निर्माण गर्न करोडौं रुपैयाँ आवश्यक पर्छ, यसका लागि देशभरका बन्धुहरूबीच समन्वय बढाएर कामलाई पूर्णता दिनुपर्ने चुनौती छ,’ उनले भने, ‘यसमा हामी सबैको सहयोग र समर्थन रहनेछ ।’
कार्यसमितको बरिष्ठ उपाध्यक्षमा खेमनारायण काफ्ले, उपाध्यक्षहरूमा कमलप्रसाद काफ्ले, लक्ष्मी काफ्ले, रामचन्द्र काफ्ले, नवदत्त काफ्ले, दीपेन्द्र काफ्ले, बाबुराम काफ्ले, शोभा काफ्ले, देवकृष्ण काफ्ले चुनिएका छन् । उता महासचिवमा नवराज काफ्ले, सचिवमा रामकृष्ण काफ्ले, कोषाध्यक्ष मनमोहन काफ्ले, सह–कोषाध्यक्षमा दामोदर काफ्ले सर्वसम्मतले चुनिएका छन् ।
सदस्यहरूमा लक्ष्मण ‘वियोगी’ काफ्ले (स्याङ्जा), चन्द्रमणि काफ्ले (सुनसरी), लक्षुमन काफ्ले (तेह्रथुम), दुर्गा काफ्ले (उदयपुर), रेणु काफ्ले (सर्लाही), राजकुमार काफ्ले (काभ्रे), अर्जुन काफ्ले (भक्तपुर), खगेन्द्र काफ्ले (कपिलवस्तु), अम्बिका काफ्ले (ओखलढुंगा), खिलानाथ काफ्ले (सोलुखुम्बु) र हरिप्रसाद काफ्ले (धनुषा) सर्वसम्मतले चुनिएका छन् । वियोगीलाई प्रवक्ताको समेत जिम्मेवारी दिइएको छ ।