काठमाडौं ः नेपाली राष्ट्रिय क्रिकेट टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा कास्यमा चित्त बुझाएको छ ।
आज सोमबार माल्दिभ्सलाई ५ विकेटले हराउँदै कास्य जितेको हो । ९५ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको हो ।
नेपालका आरिफ शेखले २८ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३२ रनको योगदान दिए ।
पवन सरार्फ १० र रोहित कुमार पौडेल १५ रनमा अविजित रहे । ओपनर पारस खड्कालाई दोस्रो ओभरको पाँचौ बलमा लिम सफिगले उमर एडमबाट ३ रनमा क्याच आउट गराए । ज्ञानेन्द्र मल्ललाई नवौं ओभरको चौथो बलमा ठूलो सट खेल्ने धुनमा उमर एडमले नजवान इस्लामबाट २२ रनमा क्याच आउट गर्दै पेभिलिएन फर्काए ।
ज्ञानेन्द्रले २४ बलमा २ चौका प्रहार गरे । ११ औं ओभरको पहिलो बलमा दीपेन्द्र सिंह ऐरीलाई उमर एडमले २ रनमा एलबी डब्लू आउट गरे । यसै ओभरको पाँचौ बलमा आरिफ शेख रन आउट हुन पुगेका थिए ।
विनोद भण्डारी ११ बलमा २ चौका सहित १२ रनमा रन आउट भए । माल्दिभ्सका उमर एडमले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । लिम सफिगले १ विकेट लिए ।
त्यसअघि आजै विहान टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको माल्दिभ्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९४ रन बनाएको थियो । सुसन भारीले ओपनर मोहम्मद रिजवानलाई १७ रनमा बोल्ड आउट गर्दिए । रिजवानले १८ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
छैटौं ओभरको तेस्रो बलमा ललित नारायण राजवंशीले अर्का ओपनर अहमिद हसनलाई ६ रनमा बोल्ड आउट गरे । ललितले नै आठौं ओभरको पहिलो बलमा फजान फरहतलाई २ रनमा एलबी डब्लू आउट गरे ।
दुई बलपछि इब्राहिम हसन शून्यमा रन आउट भए । नवौं ओभरको पहिलो बलमा विकेटकीपर मोहम्मद आजमलाई पारसले शून्यमा रन आउट गरे ।
लगतै अर्को बलमा पारसले उमर एडमलाई ११ रनमा बोल्ड आउट गरेपछि माल्दिभ्सबाट ठूलो इनिङको संभावना सकिएको थियो ।
कप्तान मोहम्मद महफूज ठूलो सर्ट खेल्ने धुनमा ज्ञानेन्द्रबाट १६ रनमा क्याच आउट भए । उनले अमिल माउरुफ १३ रनमा रन आउट भए । उनले २४ बलमा १ चौका प्रहार गरे ।
लिम सफिग ११ बलमा २ चौका र १ छक्का सहित १९ रनमा नट आउट रहे । स्पिनर ललित नारायण राजवंशीले ४ ओभरमा ६ रन खर्चेर ३ विकेट लिए ।
पारसले ४ ओभरमा १ मेडन सहित १८ रन खर्चेर १ विकेट लिए । सुसन भारीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट आफ्नो नाममा राखे । नेपाल पहिलो खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो ।
दोस्रो खेलमा भुटानलाई १ सय ४१ रनले हराएको थियो । माल्दिभ्सलाई ८४ रनले हराएको थियो । बंगलादेशसँग ४४ रनले पराजित भएपछि नेपालको स्वर्णको संभावना सकिएको थियो । स्वर्णको लागि श्रीलंका र बंगलादेश भिड्दै छन् ।