काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा यतिखेर पार्टीको १४औँ महाधिवेशनको बहसले प्राथमिकता पाएको छ । पछिल्लो समय यही विषयले पार्टीको केन्द्रीय कार्यसमिति बैठकसमेत प्रभावित हँुदै आएको छ ।
यही मङ्सिर २६ गतेको केन्द्रीय समिति बैठकमा १४औँ महाधिवेशनको कार्यतालिका पेश गर्नुपर्ने आफ्नो माग पूरा नभएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु बैठकमा उपस्थित भएनन् । सोही विषयमा सहमतिका लागि छलफल गर्न सभापति शेरबहादुर देउवा शनिबार वरिष्ठ नेता पौडेल निवास बोहराटार पुगेका थियो । पार्टी उपसभापति विमलेन्द्र निधि सम्मिलित छलफल करिब एक घण्टा चले पनि उहाँहरुबीच सहमति जुट्न सकेन ।
भेटमा वरिष्ठ नेता पौडेलले पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका तत्काल सार्वजनिक गर्नुपर्ने अडान दोहो¥याएका थिए । सभापति देउवाले भने पार्टीका अन्तरिम समायोजनसम्बन्धी कार्य सम्पन्न गरी केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको कार्यतालिका तय गर्ने बताएका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । सहमतिकै प्रयासस्वरूप उपसभापति निधि र नेता प्रकाशमान सिंहलगायत नेताहरुबीच शनिबार साँझ तथा उपसभापति निधि र महामन्त्री डा शशाङ्क कोइरालाबीच आइतबार बिहान छलफल भएको थियो ।