काभ्रेपलाञ्चोक: पर्यटकीय नगरी धुलिखेलमा ‘भ्रमण वर्ष २०२०’ को अवधिभर हरेक हप्ता खाना महोत्सव आयोजना गरिने भएको छ । धुलिखेल नगरपालिकाले पुरानो बसपार्कमा हप्ताको तीन दिन खाना महोत्सवसहित स्थानीय कला, संस्कृतिको प्रदर्शन गरिने कार्यक्रम सार्वजनिक गरेको छ ।
धुलिखेलमा पर्यटक आकर्षण गरी बसाइँ लम्ब्याउन योजनाबद्ध कार्यक्रम बनाइएको नगरप्रमुख अशोक ब्याञ्जूले जानकारी दिए । उनले भने “हामी भ्रमण वर्षभर हप्तामा तीन दिन विभिन्न परिकारमा खाना महोत्सव आयोजना गर्नेछौँ, यसपटक धुलिखेलको पर्यटन, कला र संस्कृति विश्वभर चिनाउने प्रयास गर्नेछौँ ।”
धुलिखेलमा रहेका ऐतिहासिक पर्यटकीय संरचनाको मर्मत भइरहेको तथा नयाँ बसपार्क बनाउनेसमेत योजना बनाइएको नगरप्रमुख ब्याञ्जूले जानकारी दिए ।
धुलिखेल नगरका १२ वटै वडामा हाल उद्यान निर्माण भइरहेको छ । नगरको भ्रमण वर्षलक्षित योजनामा अरनिको र बिपी राजमार्गअन्तर्गत धुलिखेल क्षेत्रमा १० नयाँ उद्यान निर्माण गरिने भएको छ । “आन्तरिक तथा बाह्य पर्यटकलक्षित कार्यक्रम पनि गर्नेछौँ, जसले स्थानीय संस्कृतिको विकास एवं स्थानीयवासीको आयआर्जनमासमेत टेवा पुग्ने अपेक्षा गरेका छौँ”, उनले भने । उनले स्थानीय उद्योगी, निजी सङ्घसंस्था, गैरसरकारी संस्था एवं स्थानीयवासीलाई भ्रमण वर्ष सफल पार्न सहयोग गर्न अपीलसमेत गरेका छन् ।
नगरको भ्रमण वर्षलक्षित कार्यक्रमको प्रशंसा गर्दै पर्यटकलाई विशेषरूपमा स्वागत, सम्मान एवं बसाइँलाई सहज बनाउन होटल व्यवसायी सजग रहने रिजनल होटल एशोसिएशन काभ्रेपलाञ्चोक सचिव एवं धुलिखलस्थित माउण्ट प्रिन्स होटल सञ्चालक ज्योत्सना सैँजूले बताए । “हामी व्यावसायी धुलिखेल नगरसँग हातेमालो गरेर भ्रमण वर्ष सफल बनाउनेछौँ”, उनले बताए। धुलिखेलमा ठूला–साना गरी ६० भन्दा बढी होटल छन् ।