दमौली: तनहुँको भिमाद नगरपालिका–९ स्थित मोहोरियामा सूचना केन्द्र निर्माण गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले रु १९ लाखको लागतमा सूचना केन्द्रका लागि भवन निर्माण गरेको हो । डिभिजन वन कार्यालयको वन उद्यान कार्यक्रमअन्तर्गत निर्माण गरिएको वातावरणमैत्री उद्यानभित्र सूचना केन्द्रका लागि भवन निर्माण गरिएको कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए ।
वातावरणमैत्री उद्यानका लागि काठमाडौँस्थित एशियन सेन्टर फर डेभलपमेण्टले सम्भाव्यता अध्ययन गरेको थियो । सम्भाव्यता अध्ययन प्रतिवेदन डिभिजन वन कार्यालय बुझाइएपछि कार्यालयले उक्त ठाउँको स्थलगत अवलोकनसमेत गरेको थियो । सूचना केन्द्रमा यस ठाउँ वरपर पाइने जडीबुटी सङ्कलन गरी प्रदर्शनीमा राखिने भीमाद नगरपालिका–९ का वडाध्यक्ष इमान थापाले जानकारी दिए।
सोही ठाउँमा डिभिजन वन कार्यालयले दुई हेक्टर क्षेत्रफलमा जडीबुटीको नर्सरी स्थापना गरेको छ । उक्त नर्सरीमा अमला, खयर, मेन्डुलालगायतका बिरुवा उत्पादन गरिएको छ । नर्सरीमा ३० हजार बिरुवा उत्पादन गर्ने लक्ष्य राखिएको छ । यस ठाउँमा रहेको चुच्चेढुङ्गाको प्रचारप्रसार गरी पर्यटक भित्र्याउने लक्ष्यसहित वातावरणमैत्री उद्यान र सूचना केन्द्र निर्माण गरिएको उनले जानकारी दिए । वडाध्यक्ष थापाले भने, “यस ठाउँमा रहेको चुच्चो ढुङ्गा निकै आकर्षक छ, यसको प्रचारप्रसार गरी पर्यटक भित्र्याउन सकिए यस ठाउँको विकासमा टेवा मिल्नेछ।”
