बनेपा: बेथानचोक गाउँपालिका–२ मूलडाँडाका किसान हुद्धराज तिमल्सिनाले दूध बेचेर महिनामा रु २५÷२६ हजार आम्दानी गर्दै आएका छन् । दैनिक २० देखि २२ मानासम्म दूध बेच्ने गरेको उनले गाउँमा किसाने काम गरेर राम्रो आम्दानी गरेको हो ।
भैँसी पालेर दूध बेच्दै आएका उनले महिनाको घर खर्च र बस्तुभाउलाई दाना ख्वाउँदा लागेको खर्च कटाएर रु १४÷१५ हजार नियमित बचत हुने गरेको बताए । उनले भने, “कृषि पेशासँगै ज्याला गरेर पनि आम्दानी गर्दै आइरहेको छु ।” चार जनाको परिवार पाल्नका लागि गाउँमा नै वस्तु पालेर राम्रो आम्दानी भइरहेको उनको भनाइ छ ।
गाउँका सबै किसानले गाईवस्तु नै पाल्ने गरेकाले दूध उत्पादनबाट राम्रो आम्दानी लिँदै आएको तिमल्सिनाले बताए । “गाउँलेहरुले प्रायःजसो गाई पाल्ने गरेका छन्”, उनले भने, “डेरीमा भन्दा खुवा बनाउन दिने ठाउँमा बढी पैसा आउने भएकाले त्यहीँ लाने गरेका छौँ ।”
