काठमाडौँ: नेपालका लागि जापानका राजदुत मासामिची साइगोले परिवर्तित अवस्थामा नेपालको आर्थिक र व्यापारिक अवस्था सुदृढ गर्नलाई जापानले थप लगानी गर्ने बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त राजदुत साइगोको स्वागतमा आयोजित “समसामयिक जापान–नेपाल आर्थिक सम्बन्ध“ बिषयक छलफल कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।
नेपालले सन् २०२० लाई “नेपाल भ्रमण बर्ष“को रुपमा मनाउन गैरहेकोले यस सम्बन्धि नेपाल सरकारको लक्ष्य पुरा गर्न जापानले पर्यटन क्षेत्रमा टेवा पुग्ने गरि आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्न आह्वान गरिने उनले बताए ।
नेपालको आर्थिक बिकासको लागि उत्पादन र बजारीकरणमा आफ्नो देशले हाँशिल गरेको अनुभव नेपाली उद्योगी–व्यवसायीहरुसंग आदान–प्रदान गर्ने वातावरण तयार गर्न आफुले सघाउने कुरा पनि राजदुत साइगोले बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले साइगोको कार्यकालमा नेपाल–जापान आर्थिक सम्बन्ध नयाँ उचाईमा पुग्ने बिश्वास व्यक्त गरे ।
नेपालमा स्थिर सरकार बनेको समयमा भएको उनको नियुक्तिले नेपाल र जापानबिचको व्यापारिक सम्बन्ध नविन तरिकाले अगाडी बढ्ने आशा नेपाली व्यवसायीहरुले गरेको अध्यक्ष श्रेष्ठले बताए ।
विशेषगरी कृषि नै नेपालको आर्थिक बिकासको आधार भएकोले कृषिको आधुनिकीकरण र बैज्ञानिकीकरणमा जापानको प्राबिधिक तथा आर्थिक सहयोग र लगानी महत्वपूर्ण हुने कुरा पनि श्रेष्ठले बताए ।
चेम्बर भवन कान्तिपथमा सम्पन्न उक्त कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरु, सदस्यहरु र जापानी दुतावासका उच्च स्तरीय कुटनीतिक मण्डलको सहभागिता रहेको थियो ।