चितवन: वे ग्रुप चितवन र आसपासका क्षेत्रका लागि परिचित नाम हो । चितवनमा सरसफाइको पर्यायवाची नाम नै भएको छ वे ग्रुप । विसं २०७३ जेठ २४ देखि यस ग्रुपले सरसफाइ अभियानमा थालेको हो ।
नौ जनाबाट शुरु भएको अभियानमा अहिले २०० भन्दा बढी युवा जोडिएका छन् । मन्दिरको प्रवेशद्वारमा देखिएको फोहर उठाएर शुरु गरेको अभियानले अहिले भरतपुर मात्रै नभएर चितवनभरि नै सरसफाइका क्रियाकलाप अगाडि बढाएको छ । वे ग्रुपका संयोजक भोजनारायण कँडेलले मन्दिरमा नियमित जाने क्रममा द्वार अगाडि देखेको फोहरले आफूहरुलाई अभियान शुरु गर्न सोच उब्जिएको बताए ।
“हामी नियमित रुपमा मन्दिरमा जाने गरेका थियौँ,” कँडेलले भने – “घरमा होस् या मन्दिरमा नै किन नहोस्, भित्रबाट बढार्दै आएर जम्मा भएको फोहर अगाडि थुपार्ने चलन थियो ।” यो समूहले सरसफाइ आफ्नै ठाउँबाट गर्नुपर्छ भनेर धारापानीमा रहेको शिवालय मन्दिर परिसरबाट सरसफाइ अभियान शुरु गरेको हो । कँडेलका अनुसार अभियानको शुरुआती दिनमा जोडिन नपाएको गुनासो धेरैबाट आएपछि आफूहरुसँग आउने सबैलाई समेट्दै कार्यक्षेत्रसमेत विस्तार गर्दै लगिएको छ ।
पछिल्लो समय वे ग्रुपको सरसफाइ अभियानसँग भरतपुर महानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन, उद्योग वाणिज्य सङ्घ चितवन, वेटर चितवन, हेल्प फर हेप्पीनेश, टोल विकास संस्थालगायत विभिन्न सामाजिक सङ्घसंस्था आवद्ध भएका छन् । भरतपुर महानगरपालिकाले केही शृङ्खलामा अभियानसँग हातेमालो गरेको भए पनि पछिल्लो समय चासो नदिएको ग्रुपको गुनासो छ । ग्रुपले अभियान शुरु गरेपछि अहिले भरतपुर बजार क्षेत्रमा पहिलेको जस्तो फोहरका डङ्गुर देखिन छाडेको छ ।