काठमाडौं : समाजवादी पार्टीले सरकारबाट बाहिरिएको औपचारिक घोषणा गरेको छ ।
पार्टीको आज बुधबार बसेको कार्यकारिणी समितिको बैठकले सरकार त्यागेकाले उसलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भन्दै अध्यक्ष उपेन्द्र यादवले यस्तो घोषणा गरेका हुन।
उनले पार्टी अब प्रतिपक्षमा रहेर संविधान परिमार्जन गर्ने संशोधन गर्ने र सबैको संविधान बनाउने कार्यमा लाग्ने बताए ।
केपी ओली नेतृत्वको सरकारलाई दुई तिहाइको सरकार बनाएको उपप्रधान एवं कानूनमन्त्री उपेन्द्र यादवको दल समाजवादी पार्टीले हिजो मंगलबार आकस्मिक रुपमा सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकार छोड्ने निर्णय गरेपछि उपप्रधानमन्त्री यादव र सहरी विकासमन्त्री इस्तियाक राईले राजीनामा समेत दिएका थिए ।
सोमबारको मन्त्रिपरिषद् बैठकमा कानूनमन्त्रीको हैसियतमा आफूले संविधान संशोधनको प्रस्ताव प्रस्तुत गर्दा प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेको र यसअघि सरकारमा सहभागी हुने क्रममा गरिएको दुई बुँदे सहमति भंग भएको यादवले उल्लेख गरेका छन् ।
यसअघि मन्त्रिपरिषद् पुगर्नठन गर्ने क्रममा प्रधानमन्त्री ओलीले उपेन्द्र यादवलाई स्वास्थ्यबाट कानून मन्त्रालयमा सरुवा गरेका थिए । त्यसबेला नै प्रधानमन्त्रीले समाजवादी दललाई सरकारबाट हटाउन खोजेको कतिपयको आकलन थियो ।