डोटी: जिल्लामा पछिल्लो समय आरन व्यवसायीले मनग्य आम्दानी गर्न थालेका छन् । केही समय पहिले करीब–करीब लोप हुने अवस्थामा रहेका यहाँका आरन व्यवसायी पछिल्लो सयम फेरि जुर्मुराउन थालेका छन् । आरन व्यववसायबाटै यहाँका अधिकांश आरन व्यवसायीले मनग्य आम्दानी थाप्ने गरेका छन् ।
उक्त पेशाकै कारण उनीहरुलाई पछिल्लो समय आफ्नो खर्च चलाउन निकै सहज भएको छ । आरन व्यवसाय फस्टाउन थालेपछि उनीहरुलाई अहिले आफ्नो कामकाजमा भ्याइनभ्याई हुन थालेको छ । पुख्र्यौली घर सुदूरपश्चिम प्रदेशको बैतडी जिल्ला भएका धनीराम ओडले दिपायलस्थित राजपुरमा खोलेको आरन व्यवसायले मनग्य आम्दानी गरेका छन् । आफ्नो पेशाप्रति उनी निकै सन्तुष्ट छन् ।
पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको नकर्मी पेशाबाट आफ्ना पाँच जनाको परिवारलाई बजारकै परिवेशअनुसारको रहन–सहन, खानपिन र व्यक्तित्व विकासमा ढाल्न उहाँ प्रयत्नशील भएको बताउछन् । पछिल्लो समय बजारमा भित्रिएका आधुनिक औजारका कारण जिल्लामै आरन व्यवसाय लोप हुँदै जान थाले पनि उनले आफनो व्यवसाय राम्रै चलाएको छ ।
विगत १० वर्षदेखि डोटीको दिपायलस्थित राजपुर बजारभन्दा केही पर, रोड नजिकैको सरकारी जग्गामा एउटा सानो घर बनाएर व्यापारिक हिसाबले नकर्मी पेशा गरिहेका ओड आफ्नो कामप्रति गर्व गर्छन । बच्चादेखि नै फलामको काम सिकेर हाल ५९ वर्षको उमेरसम्म पनि लोप हुँदै गइरहेको पुख्र्यौली पेशालाई शिरोधार्य गर्दै आएका ओड स्थानीय सरकार तथा सरोकारवाला निकायसँग गुनासो गर्छन, “हाम्रो नगरपालिका तथा सरोकारवाला निकायले हामी र हाम्रो पेशालाई समेत हेप्दै र चेप्दै गएका छन् । हाम्रो पेशा सङ्कटमा पर्न थालेको छ, जोगाउनुप¥यो ।”
दिपायलस्थित पिपल्ला राजपुर बजारमा मात्रै होइन, यहाँका अन्य छिमेकी जिल्ला डडेल्धुरा तथा अछाम नजिकका गाउँबाट समेत कृषिका लागि प्रयोग हुने फलामे साधन बनाउनका लागि स्थानीयवासी उनको घरमा पुग्ने गरेको ओड बताउछन् । विगत १० वर्षदेखि नै सरकारी जमीनमा घर बनाएर फलाम पिट्ने काम गरिरहेको र आजसम्म काममा कुनै किसिमको नकारात्मक प्रभाव नपरेकाले ग्राहक विश्वास गरेर आउने गरेको र खुशी भएर दुई÷चार पैसा ज्यालाभन्दा बढी नै दिएर जाने गरेको उनले बताए । उनले भने, “मैले भनेअनुसारको सामग्री बनाएकाले मसँग ग्राहक खुशी हुन्छन्, तर स्थानीय सरकारले अहिलेसम्म सहयोग गर्न सकेन र मैले गरेको परिश्रम देखेन ।”
त्यस्तै जिल्लाको जोरायल गाउँपालिका–५ गडसेराका आरन व्यवसायी शिवसिंह लुहारले पनि आफ्नो गाउँमा खोलेको आरन व्यवसायबाट मनग्ये आम्दानी गरेका छन् । वडा कार्यालयको आर्थिक सहयोगमा उनले आफनो गाउँमा आरन व्यवसाय खोलेको हो । उनको आरनमा घरेलु औजार हँसिया, बञ्चरो, खुकुरी, कुटो, कोदालो, खुँडालगायतका घरेलु औजार बनाउन आउनेको सधैँ भीड लाग्ने गरेको छ ।
आरन व्यवसायबाट नगद कारोवार हुन थालेपछि उनले आफ्ना तीन छोराछोरी सजिलैसँग स्कूल पढाइ राखेको छ । छोराछोरीसहित पाँच जनाको परिवारलाई उनले आरन व्यवसायबाटै राम्रैसँग पाल्दै आएका छन् ।
जिल्लाको दिपायल सिलगढी नगरपालिकाले नगरपालिकाभित्रमा व्यावसायिकरूपमा आरन व्यवसाय गर्न इच्छुकहरुलाई आर्थिक सहयोगका लागि निवेदन दिन आग्रह गरेको नगरप्रमुख मञ्जु मलासीले बताए । उनले भने, “आरन व्यवसाय लोप हुन नदिन हामीले विभिन्न कार्यक्रम तथा योजना ल्याएका छौँ, आरन व्यवसाय गर्नलाई कति लागत चाहिन्छ निवेदन मागेका छौँ, निवेदन कति पर्छ त्यसैका आधारमा रकम छुट्याउने छौँ ।”