सिमकोट: लामा समुदायको जीवनशैली र रहनसहन फरक छ । सानै उमेरदेखि लामा समुदायका युवतीले आनी अर्थात् टोपेनी बनेर जिन्दगी गुम्बा अथवा गुफामै बिताउने गरेका छन् ।
नाम्खा गाउँपालिका वडा ४ याङ्गगारस्थित नाम्ख्वुँङ्ग पेमा होत्साल छ्योलिङ गुम्बामा १४० आनी अध्ययन गर्दै बसिरहेका छन् । सिमकोट र नाम्खा गाउँपालिकाका ७० भन्दा बढी आनी गुम्बाभन्दा बाहिर रहेर गुफामा बस्दै आइरहेका छन् । जिल्लाभरि जम्मा २१० आनीले लामा पुस्तक (छ्यो) अध्ययन गरिरहेका छन् ।
सिमकोट गाउँपालिका –३ की ७० वर्षीया आनी छिरिङ्ग डोमा लामाले ‘बौद्धधर्ममा पाप गर्नु हुँदैन, पाप गरे अर्को जुनीमा नराम्रो हुने भएका’ले आफ्नो जीवनकाल नै आनी बनेर बिताउने गरेको बताए । “मैले १३ वर्षको उमेरदेखि आफ्नो परम्पराअनुसार ठूलो लामाकहाँ पुगी कपाल काटेँ, उसैलाई चढाएर त्यस दिनदेखि जीवनभरि बिहा नगर्ने र ज्ञान लिएर गुफाभित्रै बस्ने निर्णय गरेँ ”, आनी लामाले भनिन । उनी १५ वर्षसम्म ठूलो लामासँग ज्ञानका पुस्तक अध्ययन गरेर गाउँ नजीकको गुफामा बसिन ।
लामा समुदायका छोरीहरु टोपेनी बनेपछि जीवनभर बिहा नगर्ने परम्परा छ । उनी जस्तै धर्म र कर्ममा विश्वास गर्ने हुम्ला जिल्लाका कैयौंँ युवती आनी बनेका छन् । छोरा मान्छे टावा अर्थात् टोप्या बनेमा इच्छानुसार विवाह गर्न पाउने र आनी बनेका टोपेनीले विवाह गर्न नपाउने र पवित्र भएर बस्नुपर्ने संस्कार छ । “आनी बन्नुको मुख्य उद्देश्य आफ्नो जीवनकालमा कुनै पनि पाप नहोस्, यदि भुलचुकमा पाप भएमा यस जुनीमा नै काटियोस् भन्ने हो”, उनले भनिन ।
लामा समुदायका युवती आनी बनेपछि अन्य युवती जसरी खुलेर समाजमा हिँड्डुल गर्न नपाइने ७० वर्षीया आनी लामाले बताइन । आनी बनेपछि पुस्तकमा रहेको ज्ञानार्जन गर्दै सीमा रेखाभन्दा बाहिर जान पाइँदैन ।
आनीले तल्लो भागमा रातो रङको स्यादाब र माथिल्लो भागमा पहेँलो रङको तेतोङ अथवा दुपटा लगाउँछन् । उनले भनिन , “हाम्रो समयमा आनीले ऊनले मात्रै बनाएका कपडा, जुत्ता, अन्य लुगा लगाउने चलन थियो । अहिलेको समयमा आनी बन्ने युवतीले पछिल्लो समय बजारमा आएका आधुनिक कपडा र अन्य सामग्री प्रयोग गर्न पाउने भएका छन् ।”
गाउँभन्दा एक घण्टा टाढा आफ्नो एकतलाको गुफा बनाएर ज्ञान साधनामा लिप्त उनी मूलको पानी खान्छिन । राति पुस्तक अध्ययन गर्दा बत्ती नहुँदा सल्लाको दियालोको उज्यालोको भरमा अध्ययन गर्नुपर्ने बाध्यता छ । आनीको समस्यालाई समाधानका लागि नेपाल सरकारले आफूजस्तै विकट ठाउँमा साधनामा बसेका आनीलाई पानीको धारा र सौर्यबत्ती सहयोग गरेमा पुण्य हुने आनीले बताइन । “माटाले छाएको आफ्नो गुफा पानी र हिउँ पर्दा चुहिने डर हुँदाहुँदै पनि ज्ञान साधनामा बस्दा मनलाई आनन्द मिल्छ”, उनले बताइन ।