काठमाडौं : उपसभामुख डा. शिबमाया तुम्बाहाङफेले आज पदबाट राजीनामा दिँदैछिन ।
खाली रहेको सभामुख पदमा आफ्नो दाबेदारी रहने बताउँदै आएकी तुम्बाहाङफे एकाएक नेकपाले सभामुखका लागि उम्मेदवारको नाम तोकेलगत्तै आफ्नौ अडानबाट पछि हट्दै यस्तो निर्णयमा पुगेकी छिन ।
एक नेताका अनुसार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको आग्रह मानेर उनी राजीनामा दिन तयार भएकी हुन ।
उपसभामुख तुम्बाहाङ्फेले सभामुखलाई सम्बोधन गर्दै आजै संसदमा राजीनामा पेस गर्दैछिन । उपसभामुख तुम्बाहाङफेले सोमबार प्रतिनिधिसभा बैठक बस्नु अगाडि नै राजीनामा दिने तयारी भएको संसद् सचिवालयका सन्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए ।
संसद् बैठकपछि उपसभामुख तुम्बाहाङ्फेले संसद् भवनमै पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्ने बताइएको छ । यससंगै सभामुख निर्वाचन प्रक्रिया आजकै बैठकबाट अघि बढ्नेछ ।
आज सोमबार बस्ने प्रतिनिधि सभाको बैठकको अध्यक्षता ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्ने गरी तयारी भएको संघीय संसद सचिवालयका एक अधिकारीले जानकारी दिए ।
यसैबीच, अग्नि सापकोटालाई सभामुख बनाउने निर्णयपछि राजीनामा दिन तयार भएकी उपसभामुख तुम्बाहाङ्फेलाई मन्त्री बनाउने तयारी भएको एक नेताले बताएका छन । उनको व्यवस्थापनका विषयमा प्रधानमन्त्रीले विशेष चासो राखेको बताइएको छ ।