मकवानपुर : दामनस्थित एक रिसोर्टमा आज मंगलबार बिहान ८ भारतीय नागरिकको मृत्यु भएको छ।
थाहा नगरपालिका ४, दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा ती ८ भारतीय नागरिक आज मंगलबार विहान अचेत भेटिएका थिए ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरु सबैजनाको मृत्यु भइसकेको जनाएको छ।
मृत्यु हुनेमा भारत केरला बस्ने वर्ष ३८ का रन्जित कप, सोही ठाउँकी ३४ वर्षीया ईन्द्र, वर्ष ३७ का प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय बालक अभि, ७ वर्षीया बालिका अर्चना, ५ वर्षका बालक बैशनव र ९ वर्षीया बन्द्रा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।
बिहानै बेहोस भेटिएका उनीहरूलाई हेलिकोप्टरबाट उद्धार गरेर उपचारका लागि काठमाडौं ल्याइएको थियो। उनीहरुको पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लैजाने तयारी भइरहेको छ ।
भारतबाट नेपाल घुम्न आएका १५ भारतीय नागरिकको समूह पनोरमा रिसोर्टका दुई कोठामा बसेका थिए । एउटा कोठामा ८ र अर्को कोठामा ७ जना बसेका थिए।
राति ग्यास हिटर बालेर सबै झ्याल बन्द गरी सुतेकाले निस्सासिएर उनीहरू बेहोस भएको हुनसक्ने अनुमान प्रहरीको छ ।