काठमाडौँ : पहिलो अन्तर्राष्टिय एक दिवसीय क्रिकेटमा नेदरल्यान्डसले नेपालसामू १९० रनको चुनौती प्रस्तुत गरेको छ ।
नेदरल्यान्ड्सस्थित भि आर ए खेलमैदानमा भइरहेको खेलमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले ४७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ८९ रन बनायो । नेपालका तर्फबाट व्याटिङमा चम्किएका कप्तान पारस खड्काले सबैभन्दा बढी ४ विकेट लिए ।
त्यस्तै सोमपाल कामीले तीन अनि सन्दीप लामिछाने, करण केसी र बसन्त रेग्मीले एक- एक विकेट लिए ।
घरेलु टोली नेदरल्यान्ड्सका लागि मिचेल रिप्पोनले सर्वाधिक ७६ बलमा ५१ रन जोडे । यस्तै स्टेफेन माइबर्गले २९, बास डे लिडेले ३०, बेन कुपरले २० र स्कट एडवाड्सले १८ रन बनाए ।
गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु को उपविजेता बन्दै नेपालले एक दिवसीय मान्यता पाएको थियो ।
नेदरल्यान्ड्सको निमन्त्रणामा नेपाली टोली, पारस खड्काको नेतृत्वमा त्यहाँ पुगेको हो ।
नेदरल्यान्ड्समा एक दिवसीय दुईवटा खेल हुनेछन् । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट एक दिवसीय मान्यता पाएयता यो स्वरुपको खेल खेल्न लागेको पहिलो पटक हो ।
नेपाल र नेदरल्यान्ड्सबीच आम्स्ट्राडाममा दोस्रो एक दिवसीय खेल यही साउन १८ गते हुनेछ ।