काठमाडौं : चीनमा नोवल कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि नेपाल फर्किन चाहने नेपालीको व्यवस्थापनका लागि विशेष तयारी भइरहेको छ ।
चीनबाट फर्किएकाहरुलाई विमानस्थलमै कोरोना भाइरसको संक्रमण भएनभएको जाँच गरी संक्रमितलाई सुरक्षित स्थानमा राख्ने तयारी सरकारको छ ।
उनीहरुलाई अलग्गै राखी विशेष उपचार गर्नुपर्ने भएकाले सिधै घरको सम्पर्कमा रहने अवस्था नरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जनाएका छन ।
भाइरस संक्रमितलाई २ सातासम्म सघन उपचारका लागि अहिले धमाधम स्थानको खोजी भइरहेको उनले बताए ।
उनका अनुसार काठमाडौं नजिकका सशस्त्र प्रहरीको ककनी र मातातीर्थ तालिम केन्द्र तथा सेनाको पाँचखालस्थित यूएन ट्रेनिङ सेन्टरलाई सम्भावित ठाउँका रूपमा हेरिएको छ।
यसैगरी ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज, भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र, नगरकोट जाने बाटोमा रहेको विद्युत् प्राधिकरणको तालिम केन्द्र र कीर्तिपुरस्थित आयुर्वेद तालिम केन्द्रलाई समेत क्वारेन्टाइन स्थलमा प्रयोग गर्न सकिने ठाउँका रूपमा पहिचान गरिएको उनले बताए।
चीनको हुवेई प्रान्तका उहानलगायत चाररपाँच सहरका गरी १ सय ७७ नेपालीलाई स्वदेश फर्काउने तयारी भइरहेको उनले जानकारी दिए।
कोरोना भाइरस संक्रमण भए पनि त्यसका लक्षण देखिन कम्तीमा १४र१५ दिन लाग्ने भएकाले यस अवधिभर ती नेपालीलाई क्वारेन्टाइनमा राख्न यी स्थानको खोजी गरिएको हो।
प्रवक्ता श्रेष्ठका अनुसार नोवल कोरोनाको प्रकोप फैलिएको चिनियाँ भूभागबाट स्वदेश फर्काइने नेपालीहरूलाई १५ दिनसम्म चिकित्सकीय सुविधासहितको क्वारेन्टाइनमा राखिने छ।
कोरोना थप नफैलियोस् भनेर अन्य देशले चीनबाट आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेका छन् भने चीन भ्रमणमा जान पनि रोक लगाएका छन्।
मृतकको संख्या ३०४ पुग्यो, १४ हजार ३ सय जना संक्रमित
चीनको उहानबाट फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ सय ४ पुगेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो भाइरसबाट विश्वभर १४ हजार ३ सय जना संक्रमित भएका छन्।
गत डिसेम्बर अन्तिम साता चीनको उहानमा पहिलोपटक देखापरेको कोरोना भाइरस यतिबेला विश्वका २५ देशमा फैलिइसकेको छ।