काठमाडौं: नयाँ डिजाइनका कस्ता कस्ता फर्निचर र सजावटका सामान बजारमा आएका छन् ? घरको सजावटमा रूचि राख्नेका लागि नयाँ केके आए ? जिज्ञासाको उत्तर खोज्न भृकुटीमण्डप पुगे हुन्छ।
मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स एण्ड इभेन्ट्सको संयुक्त आयोजनामा जारी नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनीमा फर्निचरमात्रै नभइ इन्टेरियर डेकोरेसनमा रूचि राख्नेका लागि थुप्रै थोक छन्।
गत शुक्रबार सुरू भएको फर्निचर मेलामा धेरै अवलोकनकर्ता पुगेका छन्। छरिता र चिटिक्कका फर्निचरसँगै घर तथा अफिस सजावटका लागि संसार भर बजार लिइरहेका उत्पादन प्रदर्शनीमा छन्।
करिब दुई सयभन्दा बढी ब्राण्डका उत्पादक सहभागी १ सय ५० भन्दा बढी स्टलहरुमा अवलोकनकर्ताको भीड रहेको मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रृजल भट्टराइले बताए । काठ र प्लाइवुडबाट निर्मित सामाग्रीसँगै घर तथा अफिस सजावटका अत्याधुनिक उत्पादनहरूबारे अवलोकनकर्ताले रुचिपूर्वक जानकारी लिइरहेको उनले बताए।
‘फर्निचर, प्लाइवुड तथा काठ औजारका कम्पनी, डिलर, सबडिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउनका लागि यो प्रदर्शनी गरिएको हो,’ भट्टराइले भने, ‘संसारभरीका नाम चलेका कम्पनी तथा ब्राण्ड सहभागी छन्।’ स्वदेशी र विदेशी चर्चित ब्राण्डलाई एकैथलोमा हेर्न पाउनु नेपाली उपभोक्ताका लागि अवसर भएको उनले बताए। ‘बजार लिएका प्रोडक्टको उत्पादन र फिनिसिङको तरिका पनि नेपाली उत्पादकले जान्न पाउने थलो रहेको उनको भनाइ छ।
नेपालमा फर्निचर र घर निर्माण तथा सामाग्रीको बजार विस्तार भइरहेको छ। परम्परागत तरिकाले घर बनाउने चलन परिमार्जन हुँदै जाँदा नेपालीले घर तथा अफिस सजावटमा पनि निकै ध्यान दिन थालेका छन्। त्यसैले सजावटका सामानको बजार विस्तार भइरहेको छ।
मेलामा आएर जानकारी लिनेले बिभिन्न कम्पनीका राजधानीमा रहेका बिक्री कक्षबाट आफूलाई चाहिएका बेला सम्पर्क गरेर सामान खरिद गर्न सक्छन्। मेलाका स्टलहरूबाट दिइने जानकारी र प्रदर्शनी अत्याधुनिक घर निर्माण र सजावटका लागि उपयोगी छन्। तीनदिने प्रदर्शनी आइतबार साँझसम्म चल्नेछ।