काठमाडौं : एमसीसीबारे अध्ययन गर्न बनेको नेकपाको कार्यदलको आज सोमबार पहिलो बैठक बसेको छ ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा नेकपा केन्द्रिय कमिटिले गठन गरेको कार्यदलको आज बसेको पहिलो बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतासम्बन्धी कुन कुन बुँदामा कसरी अध्ययन गर्ने भन्ने विषयमा छलफल भएको बैठकमा सहभागी एक नेताले बताएका छन ।
आजको बैठकले एमसीसीमा उल्लेख भएअनुसार सडक र विद्युतमा सहयोगका मुल बुँदाहरु र आमनागरिकमा एमसीसीको बुझाइबारे अध्ययन गर्नुपर्ने आवश्यकता लगायतका मुद्दा उठेको ती नेताले बताए ।
खनालको नेतृत्वमा बनेको कार्यदलले १० दिनभित्र एमसीसीबारे अध्ययन गरी प्रतिवेदन बुझाउनु पर्ने छ । प्रतिवेदन पेश भइ कार्यदलले दिएको सुझावका आधारमा एमसीसी संसदमा पेश हुने र अन्य प्रकृया सुरु हुने देखिन्छ ।
एमसीसीको अध्ययन गर्ने कार्यदलमा खनाल सहित दुईजना एमसीसीका आलोचक र एकजना मात्र पक्षधर छन ।
कार्यदलमा संयोजक खनाल, सदस्यमा भीम रावल र अर्का सदस्यमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली छन ।
यो कार्यदल बन्नु अगाडि नै मन्त्रिपरिषदले एमसीसी पारित गरिसकेको छ भने नेकपा भित्रको विवादका कारण यो सम्झौता संसदमा पेश हुन बाँकी
छ ।