बनेपा: जिल्ला कारागार काभ्रेपलाञ्चोकमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएका छन् । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सोमबार गरिएको अनुगमन÷निरीक्षणका क्रममा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको पाएपछि तत्काल ठाउँको व्यवस्थापन गरी कारागारलाई व्यवस्थापन गर्न कारागार शाखालाई निर्देशन दिएको छ ।
पचहत्तर जनाको क्षमता रहेको कारागारमा अहिले २४२ जना कैदीबन्दी रहेका छन् । उनीहरुलाई सुत्ने व्यवस्थापन गर्न तल र माथि सुत्न मिल्ने गरी खाटको व्यवस्थापन गरी अटाएको कारागार व्यवस्थापन शाखाले जनाएको छ ।
कारागार शाखाको निरीक्षणपछि महान्यायाधिवक्ता खरेलले बस्ने ठाउँ साँघुरो भएकाले छिट्टै नगरपालिकासँग समन्वय गरेर कारागार व्यवस्थित गर्न लाग्नुपर्ने निर्देशन दिएको हो । “अरू ठाउँको अवस्था हेरेर सफासुग्घर नै पाइयो तर ठीकै छ भन्न त सकिँदैन”, खरेलले भने, “नगरपालिकासँग समन्वय गरे जग्गाको व्यवस्थापन गरी सार्न छिट्टै पहल गर्न लाग्नुहोस् ।”
आफूले पनि नगरपालिका प्रमुखसँग कुरा गरेको र नजीकै १३÷१४ रोपनी जग्गा रहेकाले त्यसलाई उपलब्ध गराउने विषयमा नगरपालिका तयार रहेको उल्लेख गर्दै त्यसतर्फ कारागार व्यवस्थापन शाखा लाग्न निर्देशन दिए । अहिले रहेको जिल्ला कारागार शाखा धुलिखेल रहेको जग्गा जम्मा तीन रोपनी आठ आना मात्रै रहेको जनाएको छ । कारागारमा बन्दीको सङ्ख्या घट्नुको साटो थपेकै भएको कारणले दीर्घकालीन रुपमा कारागार व्यवस्थापन गर्न आवश्यक रहेको उनले बताए ।
सो क्रममा उहाँले कैदीबन्दीहरुको अवस्थाका बारेमा समेत जानकारी लिएको थियो । सो क्रममा उहाँले कैद भुक्तान गरिरहेकाहरुले आफ्नो वकिल राखेर मात्रै मुद्दा लड्न र वकिल राख्न नसकेकाहरुले जिल्ला अदालतमा सम्पर्क गरेर त्यसबाट पनि सहयोग लिन र त्यस्ता वकिलहरुलाई रकम नबुझाउन सुझाव दिए ।
सरकारले त्यसखालको व्यवस्था निःशुल्क गरिदिएको कारण मुद्दा हेर्ने बेलामा वकिललाई आफ्नो अवस्थाबारे प्रस्ट भन्न उनले आग्रह गरे । सो अवसरमा उनले कैद भुक्तान गरिरहेका बन्दीहरुले मुडा र थुन्सेलगायतका आयआर्जनका काम गरिरहेकाहरुको अवस्थाबारे समेत जानकारी लिएको थियो ।