काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म नदेखिएको र सरकारले उच्च सतर्कताका साथ काम गरिरहेको बताएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर सार्वजनिक महत्वको विषय कोरोना भाइरसबाट बच्नका लागि सरकारले लिएको पहलकदमीका बारेमा बोल्दै उहाँले नेपालमा चीनबाट फर्किएका १३ विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि परीक्षणपछि नेगेटिभ नतिजा आएको बताए ।
“सन् २०२० जनवरी ९ मा चीनको वुहान प्रान्तबाट पढेर आएका १३ विद्यार्थीमा परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको थियो, पछिल्लो समयमा परीक्षण गर्दा सबैमा नेगेटिभ देखिएको छ”, मन्त्री ढकालले भने, “नेपालमा अहिलेसम्म यो भाइरसको सङ्क्रमण देखिएको छैन ।”
नेपालमा उक्त भाइरसलाई प्रवेश गर्नै नदिन प्रधानमन्त्री केपी शर्मा ओलीे नेतृत्वको मन्त्रिस्तरीयको बैठक दुई पटक बसेको र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री ढकालको संयोजकत्वमा उच्चस्तरीय कार्यदल बनेको छ । मन्त्री ढकालले उक्त भाइरसबाट सतर्क रहनका लागि विज्ञापन सामग्री बनाएको र प्रत्येक दिन बेलुका सञ्चारकर्मीसँग ब्रिफिङ गर्ने तयारीसमेत गरेको जानकारी दिए ।
नेपालको मित्रराष्ट्र चीनको वुहान प्रान्तबाट सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक फैलिएको कोरोना भाइरस अहिले चीनको २२ प्रान्तमा फैलिसकेको छ भने विश्वका २३ मुलुकमा फैलिएको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा अहिले १७ हजार ३५१ मा सो भाइरस देखिएको छ । त्यसमध्ये १७ हजार भाइरस चीनकै नागरिकमा देखिएको छ । सो भाइरसका कारण चीनमा ३६२ को मृत्यु भएको छ । मृत्यु हुनेमा ३६१ चीनमा र चीनबाटै गएका एक नागरिकको फिलिपिन्समा मृत्यु भएको हो ।
मन्त्री ढकालले सरकारले कोरोना भाइरसका बारेमा आम नागरिकलाई सचेतनाका लागि रुघाखोकी लागेको व्यक्तिसँग नजिक नजाने र साबुनपानीले हात धुनेबारेमा जानकारी दिँदै सो भाइरस चिसामा बढी आक्रमण र गर्मीमा सुषुप्त बस्ने देखिएको जानकारी दिए ।
“सरकारले कोरोना भाइरसबाट बच्ने तयारी गरिरहेको छ, सोमबारको मन्त्रिपरिषद्को बैठकले पनि त्यसकै विषयमा गम्भीर छलफल ग¥यो”, मन्त्री ढकालले भने, “अरु रोगभन्दा फरक खालको छ, बिरामी सिकिस्त देखिँदैन, दुईदेखि १४ दिनसम्म सङ्क्रमित हुनसक्छ ।” उनले बिरामीका बारेमा समाजमा पत्ता नलाग्न पनि सक्ने हुनाले उच्च सावधानी अपाउनुपर्नेमा जोड दिए ।