काठमाडौँ: मकवानपुरको हेटौंडाकी अजिता भुजेलको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। हेटौडा ११ थानाभन्ज्याङमा सामूहिक यौनसम्पर्कपश्चात् भएकाे हत्यामा संलग्नलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हेटौंडा-११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा-४ का २४ वर्षीय आशिष बल, हेटौंडा–१४ का २१ वर्षीय ह्याक्चर भनिने बुद्ध लामा, हेटौडा-९ का १८ वर्षीय भापु भनिने सिमोन परियार र हेटौंडा- ४ का २५ वर्षीय घन्टाउके भनिने सुशील थापामगर छन् ।
यसरी भएको थियो अजिताको हत्या
ना ६ ख ६५२७ नम्बरको आइचर ट्रकका सहचालक हुन् सिमोन परियार। उनै सिमोनको बयानबाट हत्या कसरी भएको थियो भन्ने पोल खुलेको थियाे। माघ ३ गते राति ९ बजे हापु भनिने सिमोनले साहुलाई नसोधी मकवानुरकै कमाने भन्ने ठाउँबाट उक्त ट्रक हाँकेर बसपार्क ल्याएका थिए।
बसपार्कमा हापुले चुरोट किनेर पिए। ‘जाडो धेरै भएको थियो। त्यसपछि मैले चुरोट पिएँ। तीन-चार खिली खल्तीमा पनि हालेँ’, हापुले प्रहरी समक्ष भनेका छन्।
त्यति नै बेला घन्टाउके भन्ने सुशीलसँग उनको भेट भयो। ‘जाडो छ। आज कोही केटी खोजेर यौनसम्पर्क गरौं भन्ने हामीबीच सल्लाह भयो,’ हापुको बयान उद्दृत गर्दै मकवानपुरका एसपी सुशील सिंह राठाैरले भने, ‘त्यसपछि यी दुवै जना ट्रक लिएर थानाभन्ज्याङको गएको देखिन्छ।’
ट्रक सुशीलले चलाएका थिए। उनीहरु राति १२ बजे ट्रक लिएर थानाभन्ज्याङ पुगे। त्यसपछि पूर्व-पश्चिम राजमार्गको छेउमा साइड लगाए। सोही ठाउँमा उनीहरुले चिनेका थप दुई जना आशीष बल र ह्याक्चर भनिने बुद्ध लामा भेट भए ।
अब उनीहरु चारै जना मिलेर यौनसम्पर्क गर्ने सल्लाह गरे। घन्टाउने गाडीबाट झरे। युवती अजिता भुजेलसँग उनको कुराकानी भयो। सुशीलको भनाइअनुसार ७ हजार रुपैयाँमा चार जना मिलेर यौनसम्पर्क गर्ने सहमति भएको देखिएको एसपी राठौरको भनाइ छ।
त्यसपछि अजितालाई लिएर उनीहरु चारै जना ट्रकमा चढे। पालैपालाे अजितासँग यौनसम्पर्क गरे। अजिताले पहिले भनेअनुसार ७ हजार मागिन् । पैसा नदिएपछि उनीहरुबीच विवाद भयो । त्यही विवादले उग्र रुप लिँदा अजिताको हत्या भएको प्रहरीको निष्कर्ष छ।
विवाद भएपछि घन्टाउके भनिने सुशीलले गाडीमा रहेको बिजुलीको तारले अजिताको घाँटी कसे। त्यसपछि चारै जनाले घाँटी थिचेर अजिताको हत्या गरेको देखिएको एसपी राठौरको भनाइ छ।
मोबाइलबाट खुल्यो हत्याको पोल
हत्या गरेपछि घन्टाउकेले नै ट्रक चलाए। मृतक अजितालाई ट्रकमै राखेर उनीहरुले २ किलोमिटर टाढा क्याम्पा डाँडामा लगेर लाश फालेका थिए। उनीहरुले अजिताको हत्या गरेर लाश फालिसक्दा मध्यराति साढे १ बजिसकेको थियो।
संकास्पद अवस्थामा युवतीको लाश भेटिएको खबर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आएपछि प्रहरीले अनुसन्धान सुरु गर्यो र हत्यामा संलग्नलाई पक्राउ गर्याे। हत्याको पोल भने मोबाइलबाट खुलेको एसपी राठौले जानकारी दिए।
महानगरीय प्रहरी अपराध महाशाखा र मकवानपुर प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गरेपनि कुनै क्लु फेला पर्न सकेको थिएन।
सोमबार भने प्रहरीले महत्वपूर्ण क्लु पायो। अजिताको मोबाइलमा सीमकार्ड हालेर प्रयोग गरेको प्रहरीको टेक्निकल टिमले पत्ता लगायो। सोही आधारमा प्रहरीले मृतक अजिताको मोबाइलमा सीम हालेर चलाउने एलिशालाई हटौडा-११ बाट पक्राउ गर्यो ।
अजिताले उक्त मोबाइल आफ्नो प्रेमी आशीषले दिएको प्रहरीलाई बयान दिइन्। सोमबार नै आशिषले मोबाइल दिएपछि उनले सीम हालेर चलाएकी थिइन्। त्यसको केही मिनेटमै उनी पक्राउ परिन्। एलिशामार्फत आशीषलाई प्रहरीले सोमबार नै पक्राउ गर्यो ।
तर आशीषले अजिता हत्याबारे बताएनन् । मोबाइलमात्रै ह्याक्चर भनिने बुद्धले दिएको बताए। त्यसपछि प्रहरीले बुद्धलाई चितवनबाट पक्राउ गर्याे। बुद्धले भापु भन्ने सिमोन र घन्टाउके भन्ने सुशीलले दिएको बताएपछि प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो।
उनीहरुको साथबाट प्रहरीले मृतक अजिताको ओपो कम्पनीको मोबाइल र लाश फाल्न प्रयोग गरिएको ना ६ ख ६५२७ नम्बरको ट्रक बरामद गरेको छ ।
यस घटनाको अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुरदेखि टेक्निकल इभिडेन्ससम्मको सहयोग लिएको थियो । करिब २ सय ५० व्यक्तिसँग प्रहरीले सोधपुछ गरेको थियो ।