काठमाडौं : आईसीसी विश्व क्रिकेट लिग– २ अन्तर्गत पहिलो नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज बुधबारदेखि हुने भएको छ।
त्रिवि मैदान कीर्तिपुरमा हुने सिरिजको पहिलो खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्नेछ। सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि नै ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसकेको छ।
नेपाली टोलीले अभ्यासलाई पनि तीव्र बनाएको छ। नेपाली टोलीले पुस २५ देखि पोखरा रंगशालामा अभ्यास गरेको थियो। अभ्यासका क्रममा नेपालले मलेसियासँग अभ्यास खेल पनि खेलेको थियो। सिरिज खेल्न अमेरिका र ओमन नेपाल आइसकेका छन्। अमेरिकी टोली दुई साता भारतमा तयार गरेर नेपाल आएको हो।
माघ २९ गतेसम्म चल्न सिरिजमा २३ गते ओमन र अमेरिका, २५ गते नेपाल र अमेरिका, २६ गते नेपाल र ओमान, २८ गते अमेरिका र ओमन तथा २९ गते नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ।